काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारमा भित्रिएको लगानीको सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) छानबिन गर्ने योजना सरकारसँग नरहेको बताएका छन्। उनले नेपालको शेयर बजार अन्य क्षेत्रको तुलनामा पारदर्शी रहेको दाबी गर्दै लगानीकर्तालाई अनावश्यक रूपमा नआत्तिन आग्रह गरेका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलमा अर्थमन्त्री वाग्लेले हालसम्म शेयर बजारमा आएको लगानीको वैधता–अवैधताबारे अनुसन्धान सुरु नगरेको स्पष्ट पारे। उनका अनुसार शेयर कारोबार बैंकिङ प्रणालीमार्फत हुने भएकाले लगानीको स्रोतप्रति शंका गर्ने अवस्था नरहेको छ।
यद्यपि, उनले बजारभित्र हुने अनियमित गतिविधिप्रति भने कडा रुख प्रस्तुत गरेका छन्। इनसाइडर ट्रेडिङ गर्ने र नियमविपरीत कारोबारमा संलग्नलाई कडाइका साथ नियन्त्रण गरिने उनको भनाइ छ।
“इनसाइडर ट्रेडिङ गर्ने र अफवाह फैलाएर बजारमा चलखेल गर्नेलाई निस्तेज पारिन्छ,” उनले भने।
अर्थमन्त्रीले पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई आधार बनाएर केही समूहले बजारमा भ्रम सिर्जना गर्न खोजेको आरोपसमेत लगाए। यस्तो गतिविधिले लगानीकर्तामा अनावश्यक त्रास फैलाउने प्रयास भएको उनको भनाइ थियो।
उनले सरकार गठनअघि र त्यसपछि पनि अर्थतन्त्रमा यस्तो कुनै ठूलो परिवर्तन नभएको उल्लेख गर्दै शेयर बजार घट्नुपर्ने आधार नरहेको बताए।
यसैबीच, अर्थमन्त्री वाग्लेले नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट हटाउनका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई तीव्र बनाइएको जानकारी दिए। यद्यपि, उक्त अनुसन्धानको दायरा शेयर बजारसम्म विस्तार गर्ने विषयमा भने हालसम्म कुनै निर्णय नभएको उनले स्पष्ट पारे।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न परिस्थितिप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उनले समस्या परेका नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गरिने बताए।
आगामी जेठ १५ मा प्रस्तुत हुने बजेट आर्थिक सुशासन र रूपान्तरणमा केन्द्रित हुने जानकारी दिँदै उनले सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनबारे पनि नयाँ मोडालिटीमा छलफल भइरहेको बताए।

