तेहरान। इरानले Strait Of Hormuz पूर्ण रूपमा बन्द गरेको छ । अमेरिका र इरानबीच हिजो मात्र (७ अप्रिल २०२६) भएको दुई हप्ताको सशर्त युद्धविराम उल्लङ्घन गरेर इजरायलले लेबनानमा ठूलो हमला गरेको आरोप इरानले लगाएको छ ।
इजरायली सेनाले युद्धविरामको घोषणा भएलगत्तै लेबनानको दक्षिणी क्षेत्र र बेरुतमा तीव्र हवाई तथा स्थलगत हमला गरेको थियो । इजरायलले उक्त हमलालाई ‘हिजबुल्लाहविरुद्धको अलग अभियान’ भनेको छ भने इरानले यसलाई समग्र युद्धविरामको उल्लङ्घन मानेको छ ।
इरानी नौसेनाले खाडी क्षेत्रमा रहेका जहाजहरूलाई कडा चेतावनी दिँदै होर्मुज बन्द गरेको घोषणा गरेको हो ।
फार्स न्यूज एजेन्सीका अनुसार, इरानी नौसेनाले विभिन्न जहाजहरूलाई निरन्तर सन्देश पठाइरहेको छ । सन्देशमा भनिएको छ, “होर्मुज अहिले बन्द छ । इरानबाट अनुमति नलिई कुनै पनि जहाज यसलाई पार गर्न सक्ने छैन । अनुमति बिना आएमा जहाजलाई निशाना बनाइनेछ र हमला गरेर नष्ट गरिनेछ ।” जहाज मालिक तथा सञ्चालकहरूलाई इरानसँग पूर्व अनुमति लिनुपर्ने बताइएको छ ।
यो घटनाले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा ठूलो असर पार्न सक्ने देखिएको छ । विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही होर्मुज जलडमरु हुँदै ओसारपोसार हुने गर्छ । युद्धविराममा इरानले होर्मुज खोल्ने सहमति जनाएको थियो तर इजरायलको कदमपछि स्थिति फेरि तनावपूर्ण बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो युद्धविरामको घोषणा गर्दै इरानले होर्मुज खोल्ने सर्त पूरा गरेमा दुई हप्तासम्म हमला नगर्ने बताएका थिए ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि इरान अब खतरा नरहेको दाबी गरेका थिए । तर इजरायलले लेबनानमा हमला जारी राखेको भन्दै इरान रुष्ट बनेको छ ।
यो कदमले क्षेत्रीय ढुवानी र तेलको मूल्यमा थप उतारचढाव ल्याउने आशंका गरिएको छ । स्थिति अत्यन्त संवेदनशील रहेको छ र अन्तर्राष्ट्रिय समुदायले सबै पक्षलाई युद्धविरामको सर्त पालना गर्न आग्रह गरिरहेको छ ।
(स्रोत : एनबीसी न्यूज, अल जजिरा, एपी तथा अन्य अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू)

