काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्म साढे ३६ अर्ब रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले चैत मसान्तसम्म ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।
बीमकहरुको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १३.८६ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
सो अवधिसम्म आइपुग्दा सबै बीमा कम्पनीको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । तेस्रो त्रैमाससम्म सबैभन्खदा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले चैत मसान्तसम्म ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०.४८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख, हिमालयन एभरेष्टले ३ अर्ब ७४ करोड ३० लाख, सिद्धार्थ प्रिमियरले ३ अर्ब १२ करोड ९ लाख, आइजीआई प्रुडेन्सियलले ३ अर्ब १० करोड ३३ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख, युनाइटेड अजोडले २ अर्ब ५६ करोड ४६ लाख, दि ओरियन्टलले २ अर्ब ४२ करोड ६८ लाख, सानिमा जिआइसीले २ अर्ब ८ करोड १९८ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड ८६ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड ८१ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड ९७ लाख र नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
गत आवको तुलनामा सबैभन्दा व्यवसाय ग्रोथ गर्नेमा भने एनलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवको तुलनामा ४१.०४ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।

