काठमाण्डौ । सरकारी कार्यालयमा ढिलासुस्ती र अनुशासनहीनता नियन्त्रण गर्न गरिएको छड्के अनुगमनमा १३ सयभन्दा बढी कर्मचारी कारबाहीमा परेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको निगरानीमा देशभरका करिब ३ सय कार्यालयमा छड्के अभियान चलाएको हो। अनुगमनमा समयमा कार्यालय नआउने, कार्यकक्षमा नबस्ने र सेवामा लापरवाही गर्ने कर्मचारीहरूलाई कारबाही गरिएको छ।
सतर्कता टोलीले ‘स्पाई क्यामेरा’, सीसीटीभी र फाइल ट्र्याकिङ प्रणालीमार्फत निगरानी तीव्र पारेको छ। कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी कारबाहीमा परेका छन् भने अस्पतालका चिकित्सक र विश्वविद्यालयका प्राध्यापक समेत कारबाहीको दायरामा आएका छन्।
हाल कारबाहीमा परेकालाई सचेत गराउने र अभिलेख राख्ने काम भइरहेको छ भने पुनः गल्ती दोहोरिए कडा कदम चालिने संकेत दिइएको छ।
सतर्कता केन्द्रको सक्रियतापछि सरकारी कार्यालयमा कर्मचारीको उपस्थितिमा सुधार देखिन थालेको जनाइएको छ।

