काठमाण्डौ । अब नेपालमा चल्ने विदेशी दर्ताका सवारीसाधनका लागि तेस्रो पक्ष बीमा गर्ने सुविधा निर्जीवन बीमा कम्पनीहरूले पाउने भएका छन्।
नेपाल बीमा प्राधिकरणले नीतिगत निर्णयमार्फत बीमकहरूलाई यस्तो सेवा उपलब्ध गराउने बाटो खुला गरेको हो।
यस अनुसार, इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमक तथा लघु निर्जीवन बीमकहरूले मोटर बीमादरसम्बन्धी निर्देशिका, २०७३ अनुसार नेपालभित्र सञ्चालन हुने अवधिसम्म विदेशी नम्बर प्लेट भएका सवारीसाधनको तेस्रो पक्ष बीमा गर्न सक्नेछन्।
यसअघि भने विदेशमा दर्ता भएका सवारीसाधन नेपालमा सञ्चालन हुँदा तेस्रो पक्ष बीमाको कुनै व्यवस्था गरिएको थिएन।

