काठमाण्डौ । लन्डनस्थित बहुराष्ट्रिय बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंकले आफ्नो दीर्घकालीन नाफा लक्ष्य उल्लेखनीय रूपमा बढाउने घोषणा गरेको छ। बैंकले प्रविधि (एआई)प्रयोग, संगठन पुनर्संरचना र उच्च–मार्जिन व्यवसाय विस्तारमार्फत आगामी वर्षहरूमा प्रतिफल वृद्धि गर्ने योजना सार्वजनिक गरेको हो।
बैंकले सन् २०२८ सम्म रिटर्न अन ट्यान्जिबल इक्विटी १५ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य राखेको छ । जुन सन् २०२५ को स्तरभन्दा तीन प्रतिशत बिन्दुभन्दा बढी हो। साथै, २०३० सम्म यो सूचक करिब १८ प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ।
बैंकले आफ्नो रणनीतिक योजनाअन्तर्गत २०३० सम्म कर्पोरेट फङ्क्सनका १५ प्रतिशतभन्दा बढी पदहरू कटौती गर्ने घोषणा गरेको छ। यसबाट विश्वव्यापी रुपमा रहेका बैंकका ८० हजार कर्मचारीमध्ये ७ हजार भन्दा बढी प्रभावित हुनेछन् ।
बैंकका अनुसार यो परिवर्तन मुख्यत,स्वचालन,एआईको विस्तार, केही कर्मचारीको पुनः सीप विकासमार्फत कार्यान्वयन गरिनेछ। सीईओ बिल विन्टरर्सले यो कदमलाई साधारण लागत कटौती नभई कम मूल्यका मानव स्रोतलाई प्रविधि र लगानीले प्रतिस्थापन गर्ने रणनीति भएको बताएका छन्।
बैंकले अब धनी तथा उच्च आम्दानी भएका ग्राहक तथा वित्तीय संस्था र कर्पोरेट तथा लगानी बैंकिङ क्षेत्रमा बढी ध्यान केन्द्रित गर्ने जनाएको छ ।
हालैका त्रैमासिकमा बैंकले आफ्नो इतिहासकै उच्च वेल्थ रेभिन्यू र नयाँ ग्राहकबाट उल्लेखनीय पूँजी प्रवाह प्राप्त गरेको बताइएको छ।
बैंकले हालै मानस कोस्टेलोलाई स्थायी प्रमुख वित्तीय अधिकृत(सीईओ)नियुक्त गरेको छ। उनले डियागो डि जर्जियोको स्थान लिएका हुन्, जसले यस वर्षको फेब्रुअरीमा राजीनामा दिएका थिए।

