काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
डब्लुएचओका अनुसार डीआर कङ्गोको पूर्वी इतुरी प्रान्तमा फैलिएको संक्रमणमा हालसम्म करिब २४६ शंकास्पद बिरामी र ८० जनाको मृत्यु रिपोर्ट भएको छ। यद्यपि, यस अवस्थालाई हाल विश्वव्यापी महामारी ९प्यान्डेमिक० स्तरको आपत्कालका रूपमा वर्गीकृत गरिएको छैन।
स्वास्थ्य निकायले संक्रमण अहिले देखिएकोभन्दा अझ व्यापक रूपमा फैलिन सक्ने चेतावनी दिएको छ। साथै स्थानीय तथा क्षेत्रीय स्तरमा तीव्र संक्रमण फैलिने जोखिम रहेको उल्लेख गरिएको छ।
यस पटकको संक्रमण ‘बुन्डिबुग्यो’ नामक इबोला भाइरसका कारण भएको डब्लुएचओले जनाएको छ। यो भाइरसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन।
इबोलाका सुरुआती लक्षणहरूमा ज्वरो, मांसपेशी दुख्ने, अत्यधिक थकान, टाउको दुख्ने तथा घाँटी दुख्ने समस्या देखिन्छ। संक्रमण बढ्दै जाँदा वान्ता, पखाला, शरीरमा दाना आउने तथा आन्तरिक वा बाह्य रक्तस्राव हुने सम्भावना रहन्छ।
डब्लुएचओका अनुसार हालसम्म आठ वटा प्रयोगशालाबाट पुष्टि भएका संक्रमण फेला परेका छन्। संक्रमण इतुरी प्रान्तको राजधानी बुनिया तथा सुन खानी क्षेत्र मोंगवालु र र्वामपारासहित तीन स्वास्थ्य क्षेत्रमा फैलिएको छ। राजधानी किन्शासामा पनि एक संक्रमित पुष्टि भएको छ, जो इतुरीबाट फर्किएको व्यक्ति भएको बताइएको छ।
संक्रमण छिमेकी देश युगान्डासम्म फैलिएको पुष्टि भएको छ। युगान्डाका अधिकारीहरूले ५९ वर्षीय एक व्यक्तिको इबोलाका कारण मृत्यु भएको जानकारी दिएका छन्। उक्त व्यक्ति डीआर कङ्गोकै नागरिक रहेको बताइएको छ।
यसैबीच, पूर्वी शहर गोमामा पनि इबोला संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
डब्लुएचओले डीआर कङ्गो र युगान्डालाई आपत्कालीन सञ्चालन केन्द्र स्थापना गरी संक्रमितको पहिचान, निगरानी तथा संक्रमण नियन्त्रणका उपायहरू सुदृढ गर्न आग्रह गरेको छ।
विशेषज्ञहरूले संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टिका क्रममा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्। विगतका प्रकोपहरूमा सामुदायिक अन्त्येष्टिका कारण संक्रमण तीव्र रूपमा फैलिएको थियो।
रुवान्डाले पनि डीआर कङ्गोसँगको सीमामा स्वास्थ्य जाँच कडा बनाएको जनाएको छ।
इबोला पहिलो पटक सन् १९७६ मा हालको डीआर कङ्गो क्षेत्रमा पहिचान गरिएको थियो। पछिल्लो प्रकोपसहित यो देशमा इबोलाको १७औँ प्रकोप हो। सन् २०१८ देखि २०२० सम्मको प्रकोप डीआर कङ्गोको सबैभन्दा घातक मानिन्छ, जसमा करिब २ हजार ३०० जनाको मृत्यु भएको थियो।

