काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा पौने ५७ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ५६ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी गरेका हुन् ।
यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४०.६७ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले सेयरबजारमा ४० अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए ।
नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन, लघुबीमा र पुनर्बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ ।
बीमकको लगानीलाई थप खुकुलो बनाउँदै प्राधिकरणले सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने सीमा बढाइदिएको थियो । प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
जस्तै, कुनै एक बैंकको चुक्तापूँजी एक अर्ब रुपैयाँ छ भने बीमा कम्पनीहरुले उक्त बैंकको सेयरमा १५ करोड रुपैयाँसम्म लगानी गर्न पाउनेछन् ।
यसअघि बीमा कम्पनीहरुले कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।
सेयरबजारमा लगानी गर्न पाउने सीमाको दायरा बढेपछि बीमा कम्पनीहरुले धमाधम यो क्षेत्रमा लगानी बढाएका हुन् । तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश बीमा कम्पनीले सेयरबजारमा उल्लेख्य लगानी बढाएका छन् ।
तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले मात्रै ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गरेका छन् । यो लगानी गत आवको सोही अवधिसम्मको त ुलनामा ३९.४२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ लगानी गरेका थिए ।
सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको लगानी गत आवको तुलनामा १७.२० प्रतिशत बढेको छ ।
चैत मसान्तसम्म सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको यो क्षेत्रमा लगानी घटेको छ भने बाँकी सबैको उल्लेख्य बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले सेयरबजारमा १९.७४ प्रतिशतले लगानी बढाएका छन् । गत आवको तेस्रो त्रैमाससम्म सेयरबजारमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी रहेकोमा चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा १९.७४ प्रतिशत बढेर ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी लगानी राष्ट्रिय बीमा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयरमा लगानी गरेको छ । सो अवधिसम्म सानिमा जिआइसी, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको यो क्षेत्रको लगानी भने घटेको छ ।
त्यस्तै, लघुबीमा कम्पनीहरुले पनि यो क्षेत्रमा ३८ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । लघुबीमकहरुको यो लगानी रकम गत आवको तुलनामा १२.२६ प्रतिशत बढी हो ।
यसका साथै पुनर्बीमा कम्पनीहरु हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्सले पनि सेयरबजारमा शतप्रतिशत लगानी बढाएका छन् । दुई रि इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमाससम्म ४ अर्ब ९२ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम गत आवको तुलनामा १००.४१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यी दुई कम्पनीले २ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ लगानी गरेको थियो ।

