काठमाण्डौ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ अन्तर्गत हालसम्म ८७.०८ प्रतिशत गणना सम्पन्न भएको जनाएको छ।
थापाथलीस्थित कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिए। उनका अनुसार हालसम्म देशभरका गणकमार्फत ८ लाखभन्दा बढी कागजी फाराम तथा १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण गरिएको छ।
कार्यक्रममा कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले आर्थिक गणना सरकारका आर्थिक नीति तथा विकास योजनाका लागि महत्वपूर्ण आधार बन्ने बताए। उनले प्रतिष्ठान, व्यवसायको संरचना, सङ्ख्या, रोजगारी र आर्थिक अवस्थासम्बन्धी यथार्थ तथ्याङ्क सङ्कलनबाट कुल गार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखा प्रणालीलाई समयानुकूल सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गरे।
डा पोख्रेलले गणनामा सहभागी सबै प्रतिष्ठान तथा व्यवसायीलाई सही र तथ्यपरक विवरण उपलब्ध गराउन आग्रह गर्दै सञ्चारमाध्यम, विशेषगरी रेडियो क्षेत्रले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

