काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य उच्च वृद्धि भएको छ । अघिल्लो दिनको बढोत्तरीलाई निरन्तरता दिने क्रममा आज सुन ७ हजार २ सय रुपैयाँले महङ्गिएको हो ।
नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन समेत सुनको भाउ ६ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यससँगै सुनको भाउ दुईदिनमा १३ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ ।
आज १० ग्राम सुनको भाउ २ लाख ४९ हजार २३० रुपैयाँ निर्धारण भएको छ ।
सुनसँगै चाँदीपनि आज महङ्गिएको छ । चाँदीको मूल्य १६५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ६१५ रुपैयाँको स्तरमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा समेत परेको हो । कमजोर अमेरिकी रोजगारी तथ्यांकपछि अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउने अपेक्षा घटेपछि लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएसँगै आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २.६८ प्रतिशत अर्थात १०८ डलरले बढ्दै प्रतिऔंस ४ हजार १७६ डलर पुगेको छ ।

