काठमाण्डौ । पाकिस्ताको शारजाहबाट कराचीका लागि उडेको पाकिस्तानको एक कार्गो विमान (बोइङ ७३७) सम्पर्कविहीन भएको छ। विमानमा चालक दलका पाँच सदस्य सवार रहेको बताइएको छ ।
मंगलबार पाकिस्तान समयअनुसार राति ९ः१८ बजे विमानको नेभिगेसन प्रणालीमा समस्या देखिएको जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै कराची एरिया कन्ट्रोल सेन्टरले विमानलाई मार्गदर्शन गर्न थालेको बताइएको छ ।
तर, राति ९ः२१ बजे रडारमा विमान तीव्र रूपमा तल झर्दै गरेको देखिएको र त्यसको उडान दिशा पनि अचानक परिवर्तन भएको बताइएको छ। त्यसको केही समयपछि कराचीबाट करिब १५५ नटिकल माइल पश्चिम क्षेत्रमा विमानसँगको रडार तथा रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
विमानको खोजी तथा उद्धारका लागि पाकिस्तान नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकाय परिचालन गरिएका छन्। प्रभावित क्षेत्रमा पाकिस्तान नौसेनाको पीएनएस जुल्फिकार जहाज पठाइएको छ। साथै, नौसेनाको एक एटीआर विमान तुरबतबाट उडिसकेको छ भने पाकिस्तान नेशनल शिपिङ कर्पोरेशनको व्यावसायिक जहाज लाहोर पनि खोज तथा उद्धार अभियानमा सहभागी भएको छ।
पाकिस्तानमा पछिल्लो ठूलो हवाई दुर्घटना सन् २०२० मा भएको थियो। त्यसबेला पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एक आन्तरिक यात्रुवाहक विमान कराची विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ९९ जनामध्ये केवल दुई जना मात्र जीवित बचेका थिए।

