काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा झण्डै एक लाख बीमितबाट बीमालेख समर्पण भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा १४ जीवन बीमा कम्पनीबाट ९८ हजार १२७ वटा बीमा पोलिसी सरेण्डर भएका हुन् ।
जेठ महिनासम्ममा करिब १ लाख बीमितबाट ११ अर्ब ९१ करोड ५१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको हो । पछिल्लो समय बीमा पोलिसी सरेण्डर हुने प्रवृत्तिमा अझै सुधार आउन सकेको छैन ।
प्रत्येक महिना बीमा पोलिसी सरेण्डर दर बढ्दै जाँदा बीमा क्षेत्रमा यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । बीमा प्राधिकरणले पोलिसी सरेण्डरदर घटाउन विभिन्न नीतिगत कुराहरु ल्याएतापनि यसको प्रभाव बीमा क्षेत्रमा पर्न सकेको छैन ।
जीवन बीमा कम्पनीहरुले पनि पोलिसी त्याग गर्नेको संख्या घटाउन वा व्यवसाय जोगाउन निष्क्रिय रहेका बीमा पोलिसी नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिएर पुनर्जागरणको योजना समेत ल्याएका छन् । तरपनि यस्ता योजनाको प्रत्यक्ष प्रभाव जीवन बीमा क्षेत्रमा परेको छैन ।
पछिल्लो समय आर्थिक शिथिलताका कारण बीमा क्षेत्रमा पोलिसी सरेण्डरको मात्रा बढ्दै गएको पेशागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले बताए । ‘जीवन बीमा क्षेत्रमा पोलिसी त्याग गर्नेको संख्या बढ्नुको मुख्य कारण भनेको आर्थिक चलायमान नहुनु र आर्थिक मन्दी हुनु हो’ उनले भने, ‘अझैपनि बन्द भएका औद्योगिक व्यवसायहरु सञ्चालनमा आउन सकेका छैनन्, उद्योग व्यवसायहरु चलायमान नहुँदा पनि पोलिसी सरेण्डरदर बढेको हुन सक्छ ।’
साथै क्लोजिङको समय भएकाले पनि बीमालेख समर्पण गर्नेको संख्या बढेको अधिकारीले बताए । ‘क्लोजिङको समयमा अधिकांशलाई तनाब सिर्जना हुन्छ, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको ब्याज भुक्तानी वा बीमा कम्पनीबाटै लिएको कर्जाको समेत ब्याज भुक्तानी यहि समयमै गर्नुपर्ने हुन्छ’ उनले भने, ‘कतिपयले क्लोजिङको समयममा सबैतिर ब्याज भुक्तानी गर्नुपर्ने हुँदा बीमालेख नै सरेण्डर गरेको हुन सक्छ ।’
बीमा क्षेत्रमा बीमालेख धितोकर्जा लिएका बीमितहरुले कर्जा तिर्न नसकेको अवस्थामा पोलिसी नै सरेण्डर गर्ने प्रवृत्तिले गर्दा यस्तो दर बढ्न थालेको अधिकारीको भनाई छ ।
‘बीमालेख धितो राखेर कर्जा लिएका बीमितहरुले कर्जा तिर्न नसक्दा पोलिसी नै त्याग गर्ने प्रवृत्ति बढ्दो छ । रेगुलर चलिरहेको पोलिसीहरु त्याग भएका होइनन्’ उनले भने, ‘तर रेगुलर चलिरहेका पोलिसीहरु पनि त्याग हुने क्रम बढ्यो भने चाहिँ जीवन बीमा क्षेत्रमा यसले नराम्रो प्रभाव पार्न सक्छ ।’
जीवन बीमा कम्पनीमा मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुले बीमितसमक्ष पोलिसी बिक्री गर्दा जीवन बीमालेखको विषयमा स्पष्ट नबुझाउँदा पनि पोलिसी सरेण्डर मात्रा बढ्न पुगेको उनले बताए । ‘अभिकर्ताहरुले पनि बीमितको आर्थिक अवस्था अध्ययन नगरी बीमा गराउने प्रवृत्ति छ, यसले गर्दा बीमितले प्रिमियम तिर्न नसक्ने अवस्था आउँछ र पोलिसी नै त्याग गर्ने वा पोलिसी ल्याप्स हुने अवस्था हुन सक्छ’ उनले भने ।
पोलिसी सरेण्डर गर्नेको संख्या बढ्न थालेपनि यस्तो दर घटाउन बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई पोलिसी बिक्री गर्नुपूर्व अनुमानित प्रतिफलदर सहितको तालिका बीमितलाई अनिवार्य हस्तान्तरण गरेर मात्रै बीमितले भविष्यमा प्राप्त गर्ने प्रतिफलको अनुमानित रकमबारे स्पष्ट जानकारी गराउन निर्देशन दिएको छ ।
कुन कम्पनीबाट कतिले गरे पोलिसी त्याग ?
चालु आर्थिक वर्षको ११ महिनासम्ममा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी त्याग भएको छ । कम्पनीबाट कुल २६ हजार ५३९ बीमितबाट कुल ४ अर्ब १६ करोड २१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको छ ।
यसर्थ कुल बीमा पोलिसी सरेण्डर रकमको नेपाल लाइफबाट मात्रै ३४.९३ प्रतिशत रकम बराबरको पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, दोस्रोमा एलआइसी नेपालबाट कुल २० हजार ७५९ वटा बीमा पोलिसी सरेण्डर भएको छ । जेठ मसान्तसम्म कम्पनीबाट २ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको हो ।
यसका साथै राष्ट्रिय जीवन बीमा कम्पनीमा ११ हजार ८९१ बीमितबाट १ अर्ब १ करोड ५१ लाख रुपैयाँ, नेशनल लाइफमा ६ हजार ३०७ बीमितबाट ८७ करोड १५ लाख रुपैयाँ, एशियन लाइफमा ८ हजार ७१९ बीमितबाट ७३ करोड ४३ लाख रुपैयाँ, सुर्यज्योति लाइफमा ४ हजार ८१७ बीमितबाट ६५ करोड ७ लाख रुपैयाँ, हिमालयन लाइफमा ७ हजार ७५ बीमितबाट ६३ करोड १७ लाख रुपैयाँ र मेट लाइफमा ३ हजार ७१७ बीमितबाट ३७ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफमा १ हजार ६४० बीमितबाट १८ करोड १३ लाख, प्रभु महालक्ष्मी लाइफमा १ हजार १०२ बीमितबाट १७ करोड ६३ लाख, सिटिजन लाइफमा २ हजार २५८ बीमितबाट १३ करोड ३९ लाख, आइएमई लाइफमा १ हजार ३२९ बीमितबाट ११ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफमा १हजथार ३८३ बीमितबाट ८ करोड ४८ लाख रुपैयाँ र सन नेपाल लाइफमा ५९१ बीमितबाट ५ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको छ ।
हाल बीमा गरेको तीन वर्षपछि मात्रै पोलिसी त्याग÷समर्पण गर्न पाइने व्यवस्था छ । अझैपनि प्राधिकरणले सरेण्डरको मात्रा घटाउन अध्ययन गरिरहेको बताउँदै आइरहेको छ । तर बीमा कम्पनीहरुमा यस्तो दर मासिक रुपमै वृद्धि हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                