-मनिष सोती
काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको चुक्तापुँजी अझै नपुग्ने भएको छ । 
नेपाल बीमा प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो ।
पुँजी बृद्धिका लागि चार जीवन बीमा कम्पनी आइएमई लाइफ, सिटिजन्स लाइफ, सन–नेपाल लाइफ र रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आइपीओ जारी गरेका छन् । तर, आइपीओ निष्कासनपछि पनि यी चार कम्पनीको चुक्तापुँजी प्राधिकरणले तोकेअनुसार पुग्दैन ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले चार जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गरे पनि थप हुन आएको प्रिमियमबाट बोनस बाँड्न नपाउने बताएका छन् । ‘प्रिमियम मूल्यमा आइपीओ जारी गरेपनि यी कम्पनीहरुको पुँजी केही प्रतिशत अपुग नै देखिन्छ, तर थप हुन आएको प्रिमियमबाट बोनस बाँडेर पुँजी पुर्याउन भने पाउँदैनन् ।’ सिलवालले भने, ‘यी कम्पनीहरुले आइपीओ जारीपश्चात् प्लस हुन आएको पुँजी काउन्ट गरी अपुग पुँजी बराबरको क्यापिटल प्लान प्राधिकरणमा पेश गर्नुपर्छ ।’
प्राधिकरणका अनुसार प्रिमियम मूल्यमा आइपीओ जारी गरेका जीवन बीमा कम्पनीहरुले थप प्रिमियमबाट डाइरेक्ट बोनस बाँडेर पुँजी बृद्धि गर्न पाउने छैनन् । ‘आइपीओपश्चात् कम्पनीहरुले अपुग भएको पुँजी बृद्धि गरी प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउनैपर्छ, तबमात्रै प्राधिकरणले बोनस जारी गर्न दिने वा नदिने हेर्नेछ ।’ सिलवालले भने ।
प्राधिकरणका अनुसार अब यी चारवटा कम्पनीले अपुग पुँजी बराबरको क्यापिटल प्लान प्राधिकरणमा पेश गर्नुपर्नेछ । कम्पनीहरुले थप हुन आएको प्रिमियम रकमबाट बोनस बाँडेर पुँजी पुर्याउने योजना बनाएका थिए । तर प्राधिकरणले भने क्यापिटल प्लान पेश गरी ५ अर्ब पुँजी पुर्याएपछि मात्रै वित्तीय विवरणको आधारमा बोनस जारी गर्न पाउने बताएको छ ।
‘आइपीओ जारीपश्चात् प्लस हुन आएको पुँजी काउन्ट गरी अपुग पुँजी बराबरको क्यापिटल प्लान प्राधिकरणमा पेश गर्नुपर्छ ।’
सूर्यप्रसाद सिलवाल(अध्यक्ष)-बीमा प्राधिकरण
आइएमई लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
हाल आइएमई लाइफको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । आईपीओ जारीपश्चात कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीलाई अझै पनि प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन करिब १ अर्ब अर्थात् २५ प्रतिशत पुँजी जुटाउनुपर्नेछ । कम्पनीको आईपीओ १ करोड १४ लाख कित्ता बिक्री भएको थियो। जसअनुसार प्रिमियममार्फत कम्पनीले १ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै सिटिजन्स लाइफले वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि आइपीओ जारीपश्चात् सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिरहेको छ । १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँका दरले १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीको हाल चुक्तापुँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन अझै १ अर्ब २५ करोड रुपैयाँ अर्थात ३३ प्रतिशत पुँजी जुटाउनुपर्नेछ ।
त्यस्तै रिलायबल नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा थप १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ अर्ब १४ करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपश्चात् कम्पनीको पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीलाई पनि ५ अर्ब पुँजी पुर्याउन १ अर्ब पुँजी अर्थात २५ प्रतिशत जुटाउनुपर्नेछ । कम्पनीले आईपीओ बिक्रीमार्फत १ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
यसका साथै सन–नेपाल लाइफले पनि १०० रुपैयाँ अंकित मूल्यमा १५०.५५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५०.५५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँबराबरको ९६ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
हाल सन–नेपाल लाइफको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले प्रिमियममार्फत १ अर्ब २६ करोड रुपैयाँ संकलन गरेको छ । तर, पनि कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ३० प्रतिशत पुँजी अपुग रहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (49).jpg) 
                                         
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                