मंगलवार, बैशाख २३,२०८२ 07:58:24
IME remit
  • मंगलवार, बैशाख २३,२०८२ 07:58:24
IME remit
Global IME Bank Limited

तीन वर्षअघि प्रतिकित्ता ७६२४ रुपैयाँमा किनेको सेयरले डूबायो, १४५% बोनस सेयर आइसक्दा पनि अझै ५०% घाटा

Hyundai Nepal
तीन वर्षअघि प्रतिकित्ता ७६२४ रुपैयाँमा किनेको सेयरले डूबायो, १४५% बोनस सेयर आइसक्दा पनि अझै ५०% घाटा
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा सूचीकृतमध्ये हिमालयन डिस्टीलरीलाई धेरैले ब्लु चिप कम्पनीको रुपमा लिन्थे । यो कम्पनीको सेयरले बजारका लगानीकर्तालाई लामो समयसम्म ब्लु चिपको इज्जत धान्ने खालकै रिटर्न दियो । तर यसअघिको बुल तथा नेप्से अलटाइम हाई पुगेको समयमा प्रतिकित्ता ७ हजार ६०० मूल्य लगाएर हिमालयन डिस्टीलरीको सेयर खरीद गर्ने लगानीकर्ताहरु भने करिब ४ वर्ष हुन लाग्दा समेत उभो लाग्न सकेका छैनन् ।  

त्यसबेला उच्च मूल्यमा सेयर किनेर फसेका लगानीकर्ताहरुले एचडिएल फेरि बढ्ला भनेर कुर्दा कुर्दै ३ वर्ष बढी समय बितिसकेको छ । यो अवधिमा न कम्पनीको वित्तीय विवरणमा सुधार आएको छ न त रिटर्न दिनसक्ने क्षमता नै बढेको छ । बरु अझै मूल्य घट्न सपोर्ट हुने खालको वित्तीय विवरण आएको छ । जसले अलटाइम हाई आसपास यो कम्पनीे किनेर पर्खिनेहरुको पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता देखिएको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

हिमालयन डिस्टीलरी मुख्य रुपमा विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्ने कम्पनी हो । जाउलाखेल ग्रुप इण्डष्टी(जेजीआई)भित्रको एउटा कम्पनीको रुपमा हिमालयन डिस्टीलरी सूचीकृत छ । जेजीआईका मुख्य लगानीकर्ता(प्रमोटर)हरुले पब्लिकको समेत लगानी रहेको यो कम्पनीलाई बलियो बनाउनका साटो यसको आडमा अन्य आफ्ना निजी कम्पनीहरु पोस्ने नीति लिएका कारण समेत एचडीएलको यो हविगत भएको देखिन्छ । एचडिएलको ब्यानरमा धेरै नाफा कमाएको देखाउँदा त्यसको ४२ प्रतिशत हिस्सा पब्लिकमा जाने भएकै कारण प्रमोटरहरुले सुनियोजित रुपमा कम्पनीलाई कमजोर बनाउँदै लगेको देखिन्छ ।  

प्रमोटरहरुले एचडिएलको प्रगति तथा यसलाई अझ बलियो बनाउनेतर्फ ध्यान नदिएका कारण यसको व्यापारमा पछिल्लो समय तीव्र गिरावट आएको छ । तर, जेजीआई ग्रुपकै एकल तथा निजी लगानी भएका कम्पनीहरुको वित्तीय विवरण भने यसको तुलनामा उति साह्रो खस्किएको छैन ।  

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको रिपोर्टमा कम्पनीले विश्व बजारमा देखिएको आर्थिक मन्दी र व्यवसायमा देखिएको संकुचनलाई चुनौतिको रुपमा विश्लेषण गरेको छ । इन्धन, ढुवानी लगायतका कच्चा पदार्थको मूल्यमा आएको उच्च वृद्धि, मदिरा बजारमा देखिएको उच्च प्रतिस्पर्धा तथा ग्राहकको क्रयशक्तिमा आएको ह्रास लगायतका कारणले व्यापार घटेको कम्पनीको दाबी छ ।  

हिमालयन डिस्टीलरीले उत्पादन गरेमध्ये सबैभन्दा बढी बिक्री भएको गोल्डेन ओक र ब्ल्याक ओकको व्यापारलाई प्रभाव पार्न र उपभोक्तालाई भ्रममा पार्न तथा झुक्याउन केही उद्योगहरुले यो कम्पनीको जस्तै लेवल, प्लाष्टिकको बोतल प्रयोग गरी कम शक्ति र कम गुणस्तरमा मदिरा उत्पादन तथा बिक्री गरिने कार्यले समेत कम्पनीको बिक्री घटेको तर्क पेश गरिएको छ । कम्पनीको मुख्य व्यापार नै ह्रास हुने गरी अरु कम्पनीले लेवल कपी गरेको तर्क सन्तोषजनक भने देखिन्न ।  

मदिराजन्य वस्तुको विज्ञापन गर्न नपाउने सर्वोच्चको पछिल्लो आदेशका कारण समेत बिक्रीमा प्रभाव परेको कम्पनीको भनाई छ।  

पछिल्लो वित्तीय अवस्था

चौथो त्रैमाससम्मको अवस्था हेर्दा २ अर्ब ६७ करोड चुक्तापूँजी रहेको कम्पनीको खूद नाफा ३५ करोडमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष ६६ करोड रहेको खूद नाफा घटेर ३५ करोडमा सीमित बन्न पुग्दा त्यसको प्रभाव प्रतिसेयर आम्दानीमा पनि परेको छ । अघिल्लो वर्ष यही अवधिमा २४.७२ रुपैयाँ रहेको प्रतिसेयरमा आम्दानी घटेर १३ रुपैयाँ २१ पैसामा सीमित बन्न पुगेको देखिन्छ ।  

अघिल्लो वर्ष २ अर्ब ९७ करोड बढी रहेको बिक्री आम्दानी घटेर २ अर्ब ८ करोडमा सीमित बनेको छ भने उत्पादन लागत चाहिँ १६ करोड ९० लाखबाट घटेर ११ करोड ८६ लाखमा झरेको छ ।  

प्रशासनिक तथा अन्य खर्च भने बढेको छ । अघिल्लो वर्ष ७ करोड ३४ लाखमा सीमित यस्तो खर्च बढेर १० करोड ४६ लाख माथि पुगेको छ ।  

समीक्षा अवधिमा कम्पनीको पीई रेसियो १०४.७७ गुणाको उदेकलाग्दो अवस्थामा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि घटेर १२५.१० रुपैयाँमा सीमित बन्न पुगेको छ ।  

कम्पनीहरुको मुख्य वित्तीय सूचकको रुपमा रहेको रिजर्भको आकारमा समेत डरलाग्दो गिरावट देखिएको छ । अघिल्लो वर्ष ९२ करोड ५२ लाख रुपैयाँ रहेको रिजर्भको आकार घटेर यो वर्ष ६७ करोड ८ लाखमा सीमित बन्न पुगेको देखिएको छ ।  

लाभांश इतिहास

लगातार कम्पनीका मुख्य वित्तीय सूचकहरु कमजोर बन्दा यसको रिटर्न क्षमता समेत क्रमशः घटिरहेको देखिन्छ ।  

आर्थिक वर्ष २०७८/७९ मा ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिएको यो कम्पनीले आ.ब. २०७९/८० मा भने १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत लाभांश दिएको थियो । यसरी अघिल्लो वर्षसम्म ७० प्रतिशत कुल लाभांश दिएको कम्पनीको लाभांश क्षमता घटेर २५ प्रतिशतमा सीमित बन्न पुगेको थियो ।  

आर्थिक वर्ष २०७७/७८, ०७५/७६ र ७६/७७ मा त कम्पनीले क्रमशः १००, १०२.६३ र १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।  

कम्पनीको घट्दो आम्दानी, नाफा, इपीएस लगायतलाई आधार मानेर हेर्दा आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा हुनसक्ने लाभांश अघिल्लो वर्षको तुलनामा अझै घट्नसक्छ ।  

तर, कम्पनीले व्यापार घटेको अवस्थामा थप प्रडक्ट, प्रोजेक्ट वा प्लान्ट लगाउन आवश्यक ठानेमा भने थोरै लाभांश र पूँजी थप गर्ने उद्देश्यले हकप्रद समेत आउनसक्ने सम्भावना देखिन्छ ।  

मदिराजन्य उद्योगहरुसँग सम्बन्धित अन्य प्रडक्टहरुमा समेत जोड दिने आफूहरुको योजना रहेको कम्पनीले यसअघि नै घोषणा गरिसकेको छ । तर, यो सुनिश्चित भने भइसकेको छैन । 

दोश्रो बजार मूल्यको अवस्था

नेप्से परिसूचकले अलटाईम हाईको मूल्य चुमेको दिन अर्थात सन् २०२१ को अगस्ट १८ मा हिमालयन डिस्टीलरीको दोश्रो बजार  अन्तिम कारोबार मूल्य प्रतिकित्तिा ७ हजार ५३५ रुपैयाँ रहेको थियो । त्यसको ठीक एकदिनअघि अर्थात अगस्ट १७ मा हिमालयन डिस्टीलरीको सेयर मूल्य ७ हजार ६२४ रुपैयाँ रहेको थियो । अगस्ट १६ मा ७ हजार ४७४ रुपैयाँ रहेको थियो । नेप्से अलटाइम हाईको उचाईमा पुगेको पनि ३ वर्ष बढी भइसकेको छ । यो अवधिमा एचडिएलको सेयरमूल्य ७ हजार ६२४ त्यसपछि कहिल्यै पुगेन । बरु घटेर ११०० को विन्दूसम्म पुग्यो ।  

हाल यो कम्पनीको दोश्रो बजार मूल्य १ हजार ४०० को हाराहारीमा चलिरहेको छ ।  

तीन वर्षअघि यो कम्पनीको सेयर किनेर बस्नेहरुले आर्थिक वर्ष २०७७/७८ मा ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश तथा २०७८/७९ मा ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश तथा आ.ब. २०७९/८० मा १० प्रतिशत बोनस सेयर तथा १५ प्रतिशत नगद लाभांश प्राप्त गरेका छन् ।  

उदाहरणका लागि यदि कुनै लगानीकर्ताले ३ वर्षअघि हिमालयन डिस्टीलरीको १०० कित्ता सेयर किनेको थियो भने उसको त्यसबेलाको ७ लाख ६२ हजार ४०० रुपैयाँ खर्च गरेको थियो । अहिलेसम्म पनि त्यो १०० कित्ता सेयर बिक्री नगरी त्यो लगानीकर्ता बसेको भए उसको सेयर संख्या बढेर ३०८ कित्ता पुगिसकेको छ ।  

यो अवधिमा उसले नगद लाभांशको रुपमा सामान्य रकम मात्र पाएको देखिन्छ ।  

१०० मा सीमित सेयर कित्ता बढेर ३०८ कित्ता पुगे पनि दोश्रो बजार मूल्यमा लगातार पहिरो जाँदा ३ वर्षअघि ७ लाख ६२ हजार ४०० रुपैयाँ लगानी गरेको लगानीकर्ताको सम्पत्ति ४ लाख ३१ हजार रुपैयाँमा सीमित बनेको छ । तीन वर्षसम्म लगातार कुर्दा समेत आफूले लगानी गरेको रिटर्न आउन त परको कुरा, लगानी करिब ३ लाख ३१ हजार रुपैयाँले घटेको छ । यो अवधिमा बैंकको ब्याज, मुद्रास्फिति लगायतको हिसाब गर्ने हो भने ३ वर्षअघि हिमालयन डिस्टीलरीको सेयर खरीद गर्नेले लगातार तीनपटक राम्रो बोनस सेयर पाउँदा समेत करिब ५० प्रतिशत अझै घाटा व्यहोरेको अवस्था देखिन्छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.