काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले दुई महिनामै ३० अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको भदौ महिनासम्म ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
कम्पनीहरुले आर्जन गरेको यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा ३.२९ प्रतिशतले बढी हो । गत आवको भदौसम्म जीवन बीमकहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।
भदौसम्म आइपुग्दा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि भएको छ । दुई महिनामा सर्वाधिक प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनी एक्लैले ९ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ५८ करोड रुपैयाँ प्रिमियम संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले भने ३ अर्ब ३० करोड रुपैयाँ प्रिमियम भित्र्याएको छ ।
यसका साथै हिमालयन लाइफले ३ अर्ब १० करोड, सुर्यज्योति लाइफले १ अर्ब ८४ करोड, एशियन लाइफले १ अर्ब ४७ करोड, सिटिजन लाइफले १ अर्ब २७ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ६ कराड, मेट लाइफले ९६ करोड ३ लाख, प्रभु महालक्ष्मी लाइफले ८९ करोड २० लाख, रिलायबल नेपाल लाइफले ८५ करोड ४७ लाख, आइएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ र सन नेपाल लाइफले ७७ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
कुनले कति बढाए व्यवसाय ?
गत आवको तुलनामा सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले व्यवसाय ग्रोथ गरेको छ । गत आवको भदौसम्म १ अर्ब १ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको भदौ मसान्तसम्म १ अर्ब २७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन यो २६.३८ प्रतिशतले बढी हो ।
त्यस्तै, रिलायबल नेपाल लाइफले २६.५४ प्रतिशत, नेशनल लाइफले २३.२९ प्रतिशत, सन नेपाल लाइफले २२.२८ प्रतिशत, एशियन लाइफले २०.५७ प्रतिशत, सुर्यज्योति लाइफले १९.०८ प्रतिशत, नेपाल लाइफले १२.८० प्रतिशत, सानिमा रिलायन्स लाइफले ८.९० प्रतिशत र एलआइसी नेपालले ७.९७ प्रतिशतले व्यवसाय बढाएको छ ।
यसका साथै आइएमई लाइफले ७.९२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ५.७१ प्रतिशत, हिमालयन लाइफले ४.८५ प्रतिशत र मेट लाइफले ४.२४ प्रतिशतले व्यवसाय बढाएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने ७०.१६ प्रतिशतले घट्न पुगेको छ ।


                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                