काठमाण्डौ । सर्वोच्च अदालतले यातायात क्षेत्रमा हड्ताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको हो ।
देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको उल्लेख गर्दै सर्वोच्चले यातायात क्षेत्रमा हड्ताल नगर्न आदेश जारी गरेको हो ।
जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली विरूद्ध देशव्यापी आन्दोलन सुरू गरेको थियो । उक्त आन्दोलन विरुद्ध अधिवक्ता विवेक पोखरेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ ।