काठमाण्डौ । हाल देशको अर्थतन्त्रको अवस्था सन्तोषजनक नै छ । १४ महिनालाई पुग्ने झण्डै २५ खर्बबराबर विदेशी मूद्रा सञ्चिति रहेको छ । सेयर बजारलाई मुख्य प्रभाव पार्ने ब्याजदर पनि तल्लो विन्दुमा नै रहेको छ । हाल १ खर्ब २५ अर्ब बढी सेयर कर्जा प्रवाह भएको देखिन्छ । लामो रस्साकस्सी पछि नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर पनि आएका छन् ।
पूँजी बजारका सबै नियामक निकायहरु धितोपत्र बोर्ड, नेप्से तथा सीडीएससीमा प्रमुख आइसकेका छन् । लगानीकर्ताहरुले यसअघि धेरै नरुचाएका भनिएका गभर्नर महाप्रसाद अधिकारी बिदा भएर प्रजातान्त्रिक धारबाट नयाँ गभर्नर प्रा.डा.विश्वनाथ पौडेल आएका छन् । उनी आए पछि मौद्रिक नीतिको समीक्षामा जोखिम भार घटाएर एक सयमा झारी दिएका छन् । तर सेयर बजारले खासै गति लिन भने सकेको छैन । पूँजीबजारमा जति–जति सकारात्मक समाचार आउछन् सेयर बजार त्यति नै तल–तल खस्दै गएको छ । लगानीकर्ताहरुले धेरे अपेक्षा गरेका व्यक्ति नै गभर्नर भएर आउदा र उनले सकारात्मक संन्देश दिँदा पनि सेयर बजारले किन गति लिन सकेन त ?
अर्थशास्त्री मुक्ति बहादुर खत्री भन्छन् ‘अहिले बजारमा ब्याजदर घटेको छ तर लगानीकर्ताहरुमा भरपर्दो विश्वास नै भएन । नीतिगत रुपमा स्पष्टता भएन । लगानीकर्ताहरुलाई करको विषयले संधै तर्साई नै रह्यो । गभर्नर तथ्यांकको आधारमा बोल्नु पर्छ र त्यही अनुसारको कार्यसम्पादन हुनुपर्छ । गभर्नरले गफ मात्रै गरेर हुँदैन । ’
उनी थप्दै भन्छन्, ‘अघिल्लो वर्ष अर्थमन्त्री आएपछि सेयर बजार बढेको थियो । विष्णु पौडेलसँग आशा थियो । त्यो अनुसार काम हुन सकेको छैन ।’ गभर्नर व्यवहारिक र उदारवादी हुुनुपर्ने खत्रि बताँउछन् । ‘अर्को बिषय भनेको अहिले हाम्रो बजारमा बढी कारोबारी हावी भए । देशको अर्थतन्त्रको बिकास र कम्पनीको ग्रोथ हुन सकेको छैन । लगानीकर्ताहरुमा मेरो लगानीको सुरक्षा हुन्छ भन्ने नभएसम्म ठूलो लगानी बजारमा भित्रिन सक्दैन । त्यो अहिलेसम्म नभएको कारण नै अहिले सेयर बजारले लगानीकर्ताहरुले अपेक्षा गरे अनुरुप गति लिन सकेको छैन,’ उनले भने ।
त्यसैगरि प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले अहिले बजारमा सर्कुलर ट्रेडिङ भएको र लगानीकर्ताहरुमा आफ्नो लगानीको प्रतिफलमा बिश्वास नभएको कारण नै बजारले गति लिन नसकको बताए । ‘अहिले नेपालको सेयर बजारमा बल्क ट्रेडिङ भएको छ । बास्तिबिक कारोबार भएकै छैन । नियामक निकाय चुप लागेर बसेका छन् । नेपालको सेयरबजारमा कसैलाई कसैको डर भएन । त्यही कारण नै सेयरबजारले गति लिन नसकको हो, उनले भने । सेयर बजार यदि ग्रुपिङमा चल्ने हो भने भबिष्यमा नेपालको सेयर बजारबाट धेरै आशा गर्ने ठाँउ पनि नरेहेको उनको तर्क रहेको छ ।