काठमाण्डौ । भियतनाम सरकारले राजधानी हानोईमा पेट्रोलबाट चल्ने मोटरबाईक प्रवेश गर्न निषेध लगाएसँगै जापान सरकार र केही ठूला अटो निर्माताले यसले भियतनामको रोजगारीमा समस्या सिर्जना गर्नसक्ने चतावनी दिएका छन् । भियतनामको दुईपाङ्ग्रे अटोबजारमा जापानको अटो निर्माता होन्डाको दबदबा रहेको बेला जापान सरकारले यस्तो चेतावनी दिएको हो ।
गत जुलाई महिना भियतनामका प्रधानमन्त्री फाम मिन्हले राजधानी हानोईमा सन् २०२६ को मध्यबाट पेट्रोलबाट चल्ने बाइकहरुलाई प्रवेश गर्न नदिन निर्देशन जारी गरेका थिए । उनले राजधानीको उच्च वायु प्रदुषण कम गर्न यस्तो निर्देशन जारी गरेका हुन् । यो निषेधाज्ञालाई सन् २०२८ मा अझै कडाई गरिने र यसलाई देशका अन्य स्थानमा समेत लागू गरिने भियतनाम सरकारको योजना छ ।
भियतनामको यो निर्णयप्रति असहमति जनाउँदै हानोईस्थित जापानको राजदुतावासले भियतनामका अधिकारीहरुलाई एक पत्र लेख्दै अचानक गरिएको निषेधले अटो उद्योगसँग सम्बन्धित ठूलो जनशक्तिले रोजगार गुमाउने चेतावनी दिएको छ । राजदुतावासले यसको विकल्पको रुपमा उपयुक्त विद्युतीय सवारी साधन अपनाउन सुझाव समेत दिएको छ ।
भियनामको दुईपाङ्ग्रे सवारी बजार विश्वकै ठूलो मध्ये एक हो । जसको बजार ४.६ अर्ब डलरबराबर रहेको छ । १०० मिलियन जनसंख्या भएको भियतनाममा ८० प्रतिशत मानिससँग मोटरबाइक रहेको छ । जुन विश्वकै सबैभन्दा ठूलो स्वामित्व दर हो ।
भियतनाममा विशेष गरेर जापानका अटो निर्माता होन्डा, यमाहा र सुजुकी जस्ता विदेशी ब्राण्डका मोटरसाइकलको दबादबा रहेको छ ।