काठमाण्डौ । अमेरिकाको लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि यूपीएस कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । युपीयसको फ्लाइट २९७६ म्याकडोनेल डगलस एमडी ११एफ बेलुका ५ बजेर १५ मिनेटमा टेक अफ भएको केही समयपछि दुर्घटनाग्रस्त भएको हो। उक्त कार्गो विमान लुइसभिलबाट होनोलुलु जाँदै थियो।
सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा एयरपोर्टको दक्षिणमा फर्न भ्याली र ग्रेड लेन नजिकै कालो धुवाँ उठेको देखाइएको छ। यसमा आपतकालीन टोली घटनास्थलमा पुगेको देखिन्छ ।
विमानमा ३८,००० ग्यालन (लगभग १,४४,००० लिटर) इन्धन थियो। स्थानीय अधिकारीहरूका अनुसार इन्धनको मात्रा लगभग २ लाख २० हजार पाउन्ड (१ लाख किलो) हो। आगो अझै बलिरहेको छ । आगो नियन्त्रण गर्न दमकल प्रयोग भएको र सर्वसाधारणलाई दुर्घटनास्थल नजिक नजान चेतावनी दिइएको छ।
दुर्घटनामा परी कम्तिमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।
दुर्घटनाग्रस्त विमान ३४ वर्ष पुरानो थियो । यसले १९९१ मा थाई एयरवेजबाट सेवा सुरु गरेको थियो तर २००६ मा युपीएसमा स्थानान्तरण गरिएको थियो ।
लुइसभिल एयरपोर्ट, आधिकारिक रूपमा लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थल, सबै उडानहरू अस्थायी रुपमा स्थगित गरेको छ ।

