सोमबार, श्रावण १८,२०८३ 11:49:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:49:24
Bizshala
Global IME Bank Limited

१५ मध्ये ८ बित्त कम्पनी घाटामाः एनपीएल बढेर नाजुक अवस्थामा, केहीमाथि तत्काल एक्सन लिनुपर्ने आवश्यकता

१५ मध्ये ८ बित्त कम्पनी घाटामाः एनपीएल बढेर नाजुक अवस्थामा, केहीमाथि तत्काल एक्सन लिनुपर्ने आवश्यकता
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थाहरुको प्रमुख वित्तीय सूचकहरुमा पहिरो जान थालेको पहिलो त्रैमासिक रिपोर्टले देखाएको छ ।  

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याएसँगै निक्षेप संकलन, लोन प्रवाह तथा रिकभरिमा निकै ठूलो चुनौति थपिएपछि पहिला नै समस्यामा रहेका धेरैजसो वित्त कम्पनीको अवस्था नाजुक बन्दै जान थालेको देखिएको हो ।  

साथै दशैं/तिहारको लामो विदाले पनि फाइनान्स कम्पनीहरुको ऋण असुली प्रभावित हुँदा ब्याज आम्दानी घट्न गई नाफामा संकुचन देखिएको छ ।  

केही बित्त कम्पनीहरुको खराब कर्जाको अनुपात अत्यासलाग्दो गरी बढेको समेत पहिलो त्रैमासको रिपोर्टले देखाएको छ । केही कम्पनीमा त केन्द्रीय बैंकले तत्काल शीघ्र सुधारात्मक कारबाही गरी जनताको लगानी जोगाउनुपर्ने डरलाग्दो अवस्था समेत देखिएको छ ।  

चालु आवको पहिलो त्रैमाससम्म १५ फाइनान्समध्ये ७ कम्पनी मात्रै खूद नाफामा उक्लिएका छन् भने ८ कम्पनी घाटामा पुगेका छन् । नाफामा रहेका कम्पनीहरुको पनि गत आवको पहिलो त्रैमाससम्मको तुलनामा नाफा ह्वात्तै घट्न पुगेको छ ।  

सो अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा मन्जुश्री फाइनान्स रहेको छ । यो कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको तुलनामा ५०.७६ प्रतिशतले घटेको छ ।  

पहिलो त्रैमाससम्म घाटा ब्यहोर्ने कम्पनीहरुमा प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स रहेका छन्।

इपीएसमा गिरावट  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

समीक्षा अवधिसम्म सबै कम्पनीको इपीएसमा तीव्र गिरावट देखिएको छ । सबैभन्दा धेरै इपीएस मन्जुश्री फाइनान्सको १३.७३ रुपैयाँ रहेको छ ।  

पहिलो त्रैमाससम्म समृद्धि, पोखरा, नेपाल, गुहेश्वरी मर्चेण्ट, प्रोग्रेसिभ, गोर्खाज, वेष्ट र रिलायन्स फाइनान्सको इपीएस भने ऋणात्मक रहेको छ ।  

१२ कम्पनीको एनपीएल ५ प्रतिशतमाथि  

फाइनान्स कम्पनीहरुको खराब कर्जा अनुपात (एनपीएल) बढ्दा नाफामा संकुचन देखिएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको एनपीएल ५ प्रतिशत वा सो भन्दा माथि पुगेमा उक्त संस्थालाई निगरानीमा राखिन्छ ।

तर चालु आवको पहिलो त्रैमाससम्म १२ कम्पनीको एनपीएल ५ प्रतिशत भन्दा माथि पुगेको छ । सबैभन्दा धेरै जानकी फाइनान्सको एनपीएल ५३.८० प्रतिशत छ । कम्पनीको एनपीएल गत आवको तुलनामा ४० प्रतिशतले बढेको देखिएको छ ।

मर्जरको अन्तिम चरणमा रहेका समृद्धि फाइनान्स र पोखरा फाइनान्सको खराब कर्जा अनुपात क्रमशः ९.६७ प्रतिशत र १०.७६ प्रतिशत रहेको छ । समृद्धिले खराब कर्जाको अनुपातमा तीव्र सुधार गरेको देखिएको छ भने पोखराका ठीक विपरीत गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जाको अनुपात झण्डै तीन गुणाले बढेको छ ।  

बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, सेन्टल फाइनान्स र नेपाल फाइनान्सको खराब कर्जा अनुपात १० प्रतिशतभन्दा माथि छ ।  

आइसीएफसी फाइनान्सको २.७७ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३४ प्रतिशत र मन्जुश्री फाइनान्सको ४.१३ प्रतिशत एनपीएल रहेको छ।  

वितरणयोग्य मुनाफा अधिकांशको ऋणात्मक  

फाइनान्स कम्पनीहरुले आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम लगानीकर्तालाई प्रतिफल बाँड्नका लागि वितरणयोग्य मुनाफा शिर्षकमा छुट्याएका हुन्छन् ।  

समीक्षा अवधिमा अधिकांश कम्पनी लाभांश दिनै नसक्ने अवस्थामा देखिएका छन् । मन्जुश्री फाइनान्स, आइसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको मात्रै वितरणयोग्य मुनाफा धनात्मक देखिन्छ भने बाँकी सबैको ऋणात्मक छ।  

मन्जुश्रीको लाभांश क्षमता १०.४७ प्रतिशत, आइसीएफसीको १३.२९ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.४३ प्रतिशत रहेको छ भने पोखरा फाइनान्सको भने १४९.५६ प्रतिशतले ऋणात्मक छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.