काठमाण्डौ । प्रविधि क्षेत्रका दुई दिग्गज कम्पनी एप्पल र गुगलले सोमबार एक महत्वपूर्ण सम्झौताको घोषणा गरेका छन्। यस सम्झौताअन्तर्गत एप्पलका नेक्स्ट–जेनेरेसन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरहरू, जसमा सिरी भ्वाइस असिस्टेन्ट पनि समावेश छ, अब गुगलका जेमिनी एआई मोडेल तथा क्लाउड प्रविधिबाट सञ्चालित हुनेछन्।
यस सम्बन्धमा एप्पल र गुगलले संयुक्त विज्ञप्ति जारी गर्दै, ‘एप्पल फाउन्डेसन मोडेलहरूका लागि गुगलको एआई प्रविधिले सबैभन्दा उपयुक्त र सक्षम समाधान प्रदान गर्ने निष्कर्षमा एप्पल पुगेको छ,’ भन्ने उल्लेख गरेका छन्।
विज्ञप्तिमा एप्पलको एआई प्रणालीले कम्पनीका कडा प्राइभेसी मापदण्डहरू कायम राख्ने भन्ने थप स्पष्ट पारिएको छ। एआई फिचरहरू एप्पलका डिभाइसहरू र प्राइभेट क्लाउड कम्प्युटिङमार्फत सञ्चालन हुनेछन्, जसले प्रयोगकर्ताको डेटा सुरक्षालाई प्राथमिकतामा राख्नेछ।
यो साझेदारीलाई एआई प्रविधिको विकास र प्रयोगकर्ता अनुभवलाई नयाँ स्तरमा लैजाने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

