काठमाण्डौ । प्रिमियर डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ)गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।
यस सम्बन्धमा माघ ६ गते काठमाण्डौ थापाथलीस्थित प्रिमियर डिष्टिलरी लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।
विसं २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी लिमिटेड नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो, जसले भोड्का, ह्विस्की, रम र जिनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दछ ।
कम्पनीमा ‘द हिमालयन रिजर्भ’ ह्विस्की र भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौता अन्तर्गत उत्पादन गरिने ‘ओल्ड मङ्क रम’ सहित अन्य विभिन्न ब्रान्डहरू उत्पादन हुँदै आएका छन् ।

