काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । आज प्रधानमन्त्री बोलन साहसँग भेट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका गुरुङले उक्त भेटपश्चात राजीनामा दिएका हुन् ।
उनले् आफ्नो अधिकारिक फेसबुकमार्फत यसबारे जानकारी दिएका छन् । उनले पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उनको सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् ।
उनले लेखेका छन् । ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फिलिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।’
उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै सञ्चारकर्मी आम नेपाली र युवाहरू, साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनु पर्ने बताएका छन् ।

