काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले आइतबार सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गर्दै १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको जानकारी दिएको छ।
महानगरका अनुसार परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने परीक्षार्थीहरूलाई प्रारम्भिक योग्यताका आधारमा उत्तीर्ण सूचीमा समावेश गरिएको हो।
आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको उक्त परीक्षा विभिन्न परीक्षा केन्द्रमार्फत सम्पन्न गरिएको थियो।
कुल २२ हजार २० जना विद्यार्थी सहभागी भएको परीक्षामा ८३ वटा केन्द्रमार्फत व्यवस्थापन गरिएको महानगरले जनाएको छ।
महानगरले छोटो समयमै, अर्थात् परीक्षा सम्पन्न भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्नु डिजिटल शासन प्रणाली सुदृढ हुँदै गएको संकेत भएको भन्दै आफ्नो सेवा प्रवाहलाई प्रभावकारी र उत्तरदायी बनाउन सफल भएको दाबी गरेको छ।
यो छात्रवृत्ति कार्यक्रम काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी लक्षित योजना हो, जसले योग्य विद्यार्थीलाई शैक्षिक अवसर उपलब्ध गराउने उद्देश्य राखेको छ।
नतिजा हेर्नका लागि अनलाइन पोर्टलमार्फत रोल नम्बर, जन्ममिति तथा पासवर्ड प्रयोग गरी स्कोर कार्ड पहुँचयोग्य बनाइएको छ।
विद्यार्थीहरूले आफ्नो परिणाम हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ, जसले प्रक्रिया अझ पारदर्शी र उपयोगमैत्री बनेको बताइएको छ।
महानगरपालिकाले २०८० सालदेखि निजी विद्यालयहरूमा कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा सञ्चालन गर्दै आएको छ।
यसलाई सार्वजनिक शिक्षामा पहुँच विस्तार गर्ने र आर्थिक अवस्थाका कारण शिक्षा वञ्चित नहोस् भन्ने उद्देश्यले अघि बढाइएको नीतिगत कार्यक्रमका रूपमा लिइँदै आएको छ।
यद्यपि, ठूलो संख्यामा विद्यार्थी सहभागी हुने र सीमित छात्रवृत्ति सिटका कारण सबै उत्तीर्ण विद्यार्थी लाभान्वित हुन नसक्ने अवस्थाले व्यवस्थापन चुनौती थपिएको भन्दै सरोकारवालाहरूले अवसर विस्तार र प्रणालीगत सुधारको आवश्यकता औँल्याउँदै आएका छन्।
यस कार्यक्रममार्फत हालसम्म करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।
गत वर्ष १४ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदा १० हजार ८६७ जना उत्तीर्ण भएका थिए, जसमा करिब ४ हजार ५०० जनाले छात्रवृत्ति प्राप्त गरेका थिए।
यस वर्ष उत्तीर्ण संख्या बढेकाले छात्रवृत्ति पाउने विद्यार्थीको संख्या पनि अघिल्लो वर्षको तुलनामा वृद्धि हुने महानगरपालिकाले जनाएको छ।

