काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत लाभांशदर युक्त ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ। नेप्सेका अनुसार उक्त अग्राधिकार सेयर जेठ २० गतेदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गरेको हो, जसको कुल चुक्ता मूल्य ३ अर्ब रुपैयाँ रहेको छ।
नेप्सेले जारी गरेको सूचनाअनुसार, यस प्रकारका अग्राधिकार सेयरको कारोबार सर्वसाधारण लगानीकर्ताबीच भने गर्न पाइने छैन। दोस्रो बजारमा यसको खरिद–बिक्री केवल संस्थागत लगानीकर्ताबीच मात्र सीमित रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकर तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले समेत उक्त सेयरको कारोबार गर्न नपाउने नेप्सेले जनाएको छ।

