–रविन ठकुरी
काठमाडौं । भारतका विभिन्न शहरमा बढ्दो गर्मी, विद्यालय–कलेजको बिदा, धार्मिक यात्रा र नजिकैको तुलनात्मक सस्तो गन्तव्यको आकर्षणले नेपालमा भारतीय पर्यटकको लहर देखिएको छ। यही लहरले काठमाडौं, पोखरा, चितवनको सौराहा लगायतका मुख्य पर्यटकीय गन्तव्यका होटलहरू भरिभराउ हुन थालेका छन्।
मे महिनामा मात्रै भारतबाट ४० हजार ७८२ पर्यटक नेपाल भित्रिएका छन्। नेपाल आएका कुल १ लाख २ हजार ६२६ विदेशी पर्यटकमध्ये भारतीय पर्यटकको हिस्सा करिब ४० प्रतिशत पुगेको छ। यसले भारतीय बजार नेपालका लागि केवल छिमेकी पर्यटक स्रोत नभई पर्यटन उद्योगको तत्कालीन ‘लाइफलाइन’ बनेको संकेत गरेको व्यवसायीहरू बताउँछन्।
पोखरा, काठमाडौं र सौराहाका धेरै होटलमा अहिले अकुपेन्सी दर शतप्रतिशत नजिक पुगेको छ। विशेष गरी सप्ताहन्त र सार्वजनिक बिदाको समयमा कोठा पाउन कठिन हुन थालेको होटल व्यवसायीहरूको भनाइ छ।
होटल एशोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहका अनुसार भारतीय पर्यटकको यो बढ्दो चापमा गर्मी प्रमुख कारण बनेको छ।
“भारतमा अहिले धेरै ठाउँमा अत्यधिक गर्मी छ। स्कुल–कलेजको बिदा पनि चलिरहेको छ। गर्मी छल्न, घुम्न र परिवारसँग समय बिताउन भारतीय पर्यटक नेपाल आउन थालेका छन्,” उनले भने।

भारतका उत्तर प्रदेश, राजस्थान, पञ्जाब, हरियाणा, उडिसा तथा महाराष्ट्रका विभिन्न शहरमा तापक्रम ४५ देखि ४८ डिग्री सेल्सियससम्म पुगेको छ। त्यसको तुलनामा काठमाडौं, पोखरा र चितवनको तापक्रम तुलनात्मक रूपमा सहज छ। यही मौसमी अन्तरले नेपाललाई भारतीय पर्यटकका लागि ‘कूल एस्केप डेस्टिनेसन’ बनाइरहेको छ।
नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप प्रकाश कार्कीका अनुसार भारतबाट आउने पर्यटक धार्मिक यात्रा, पारिवारिक भ्रमण, घुमफिर, सेमिनार, गोष्ठी तथा कर्पोरेट कार्यक्रमका लागि नेपाल आउने गरेका छन्।
“मध्यपूर्वमा बढेको तनाव र अन्तर्राष्ट्रिय यात्रा महँगो बन्दै जाँदा भारतीय पर्यटकले नजिकको गन्तव्य रोजिरहेका छन्। खुला सीमा, सहज आवागमन र सांस्कृतिक निकटताले नेपाललाई थप लाभ पुगेको छ,” कार्कीले भने।
भारतपछि चीन, अमेरिका र बंगलादेश
मे महिनामा भारतपछि चीनबाट ११ हजार ५१४ पर्यटक नेपाल आएका छन्। त्यसपछि संयुक्त राज्य अमेरिकाबाट ९ हजार १ जना, बंगलादेशबाट ५ हजार २९८ जना, बेलायतबाट ३ हजार ३७५ जना, अष्ट्रेलियाबाट २ हजार ८७० जना र मलेसियाबाट २ हजार ८५७ जना पर्यटक नेपाल आएका छन्।
जापानबाट १ हजार ७५६, रसियाबाट १ हजार ५५० र जर्मनीबाट १ हजार ५४८ पर्यटक नेपाल आएका छन्।
तर पर्यटक संख्या, बसाइँ अवधि र होटल–रेस्टुरेन्टमा हुने खर्चका हिसाबले भारतीय बजारले नेपालको पर्यटन अर्थतन्त्रमा छुट्टै प्रभाव पार्न थालेको छ।
एक भारतीय पर्यटकबाट करिब ८० हजार रुपैयाँ खर्च
पर्यटन क्षेत्रको अनुमानअनुसार भारतबाट नेपाल आउने पर्यटक औसत १३ दिनसम्म बस्ने गर्छन्। उनीहरूले दैनिक करिब ४१ अमेरिकी डलर अर्थात् ६ हजार २०० रुपैयाँ खर्च गर्ने गरेका छन्।
यस हिसाबले एक भारतीय पर्यटकले नेपाल बसाइँमा औसत ८० हजार ६ सय रुपैयाँ खर्च गर्ने अनुमान छ। मे महिनामा आएका ४० हजार ७८२ भारतीय पर्यटकबाट मात्रै नेपालको पर्यटन अर्थतन्त्रमा ३ अर्ब रुपैयाँभन्दा बढी रकम प्रवाह भएको अनुमान गर्न सकिन्छ।
धार्मिक उद्देश्यले आउने पर्यटकको खर्च तुलनात्मक रूपमा कम हुने भए पनि घुमफिर, पारिवारिक छुट्टी, कर्पोरेट कार्यक्रम तथा सेमिनारका लागि आउने पर्यटकले होटल, रेस्टुरेन्ट, यातायात, साहसिक पर्यटन, किनमेल र मनोरञ्जन क्षेत्रमा उल्लेख्य खर्च गर्ने गर्छन्।
नेपाल आउने कुल भारतीय पर्यटकमध्ये करिब १४.२ प्रतिशत धार्मिक उद्देश्यले आउने गरेको तथ्यांक छ। पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, मनकामना, देवघाट तथा अन्य धार्मिक गन्तव्य भारतीय पर्यटकका प्रमुख रोजाइमा छन्।
पाँच महिनामै १ लाख ३७ हजार भारतीय पर्यटक
सन् २०२५ को जनवरीदेखि मेसम्म नेपालमा ५ लाख २९ हजार ९० पर्यटक भित्रिएका छन्। यसमध्ये भारतबाट मात्रै १ लाख ३७ हजार ७५ जना पर्यटक आएका छन्।
गत वर्षको सोही अवधिको तुलनामा भारतीय पर्यटक आगमन २५.९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ।
जनवरीमा २६ हजार ६२४, फेब्रुअरीमा २२ हजार ७४५, मार्चमा २५ हजार ७२८, अप्रिलमा २५ हजार १९६ र मेमा ४० हजार ७८२ भारतीय पर्यटक नेपाल आएका छन्।
मे महिनाको उछालले नेपालमा भारतीय पर्यटकको सम्भावना अझै ठूलो रहेको देखाएको व्यवसायीहरूको बुझाइ छ।
होटल क्षमता बढ्यो, अब उडान र गन्तव्य व्यवस्थापन चाहियो
नेपालका होटलहरू वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा पुगिसकेका छन्। तर होटल क्षमता बढे पनि अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी, पर्यटकीय पूर्वाधार, गन्तव्य व्यवस्थापन र प्रचार–प्रसारमा अपेक्षित सुधार हुन नसकेको व्यवसायीहरूको गुनासो छ।
हानका अध्यक्ष शाहका अनुसार भारतीय पर्यटकको अहिलेको लहरलाई केवल मौसमी अवसरका रूपमा होइन, दीर्घकालीन पर्यटन रणनीतिको आधारका रूपमा लिनुपर्छ।
“पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनुपर्छ। भारतका प्रमुख शहरसँग सिधा हवाई सम्पर्क बढाउनुपर्छ। सडक, सुरक्षा, सरसफाइ, गन्तव्य व्यवस्थापन र सेवा गुणस्तरमा सुधार नगरी पर्यटकको संख्या मात्र बढाएर पुग्दैन,” उनले भने।
नेपालले अब ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित काम गर्नुपर्ने व्यवसायीहरूको सुझाव छ। त्यसका लागि सन् २०२७ लाई लक्षित गरी प्रभावकारी नेपाल भ्रमण अभियान, भारतीय शहर केन्द्रित प्रचार, धार्मिक–प्रकृति–साहसिक पर्यटनको संयुक्त प्याकेज तथा कर्पोरेट र विवाह पर्यटनमा विशेष योजना आवश्यक देखिन्छ।
भारतीय पर्यटकको बढ्दो चापले अहिले होटल उद्योगलाई राहत दिएको छ। तर यो लहरलाई १२ महिना टिकाइराख्ने नीति बनाउन नसकिए नेपालले फेरि पनि केही महिना होटल भरिने र बाँकी समय कोठा खाली रहने पुरानै चक्र दोहोर्याउनुपर्ने जोखिम छ।
नेपालका लागि भारतीय पर्यटकको संख्या मात्र होइन, उनीहरूको बसाइँ अवधि, खर्च क्षमता र पुनः आगमन बढाउने रणनीति नै अब पर्यटन अर्थतन्त्रको सबैभन्दा ठूलो परीक्षा बन्नेछ।

