काठमाण्डौ । बेलायती स्वच्छता तथा कीटाणुनाशक ब्रान्ड डेटोलले चीनमा सार्वजनिक गरेको एक विज्ञापन विवादमा तानिएपछि औपचारिक रूपमा माफी माग्दै उक्त विज्ञापन हटाएको छ। विज्ञापनले महिलाप्रति भेदभावपूर्ण तथा वस्तुकरण गर्ने सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
करिब पाँच मिनेट लामो उक्त विज्ञापनमा एक पुरुष पात्रले आफ्नो भावी जीवनसाथी अन्य पुरुषसँगको सम्बन्धबाट प्रभावित नभएको हुनुपर्ने धारणा व्यक्त गरेको देखाइएको थियो। कथाको अन्त्यमा भने ती पुरुषको स्त्रीविरोधी सोचका कारण उनकी नयाँ साथीले सम्बन्ध अन्त्य गर्ने दृश्य समावेश गरिएको थियो।
विज्ञापनपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले महिलालाई शुद्ध वा अशुद्ध जस्ता अवधारणासँग जोडेर प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका थिए। केहीले ब्रान्ड बहिष्कारको आह्वानसमेत गरेका थिए।
विवाद बढ्दै गएपछि डेटोलले विज्ञप्ति जारी गर्दै विज्ञापनको मूल उद्देश्य लैङ्गिक पूर्वाग्रहको आलोचना गर्नु रहेको दाबी गरेको छ। कम्पनीका अनुसार विज्ञापनका केही अंश सन्दर्भबाहिर काटेर सामाजिक सञ्जालमा फैलाइएकाले यसको सन्देश गलत रूपमा बुझिएको थियो।
कम्पनीले विशेष गरी महिलाहरूको भावना आहत भएको स्वीकार गर्दै सामग्री समीक्षा प्रक्रियामा कमजोरी रहेको जनाएको छ। साथै भविष्यमा यस्ता विवाद दोहोरिन नदिन सामग्री परीक्षण तथा अनुमोदन प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यो डेटोल पहिलो पटक विवादमा परेको घटना भने होइन। यसअघि पनि कम्पनीका केही विज्ञापनहरू सामाजिक तथा सांस्कृतिक संवेदनशीलतासम्बन्धी आलोचनाको केन्द्रमा परेका थिए।
उक्त विज्ञापनमा यस्तो भनिएको छ, ‘बिहेअघि केटीलाई फिर्ता पठाइयो किनकी उनी सफा(भर्जिन) थिइनन् ।’

