काठमाण्डौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण तथा नयाँ वितरण प्रक्रियालाई व्यवस्थित र समयमै सम्पन्न गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
आगामी महाधिवेशन तयारीलाई लक्षित गर्दै पार्टीले संगठनात्मक शुद्धीकरण र सदस्यता अभिलेख अद्यावधिकलाई प्राथमिकतामा राखेको हो।
नयाँ कार्यतालिकाअनुसार जेठ २८ गतेभित्र अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यहरूले असार २० गतेसम्म आफ्नो विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।
सो कार्यका लागि भुवन ओझालाई सम्पर्क व्यक्ति तोकिएको पार्टीले जनाएको छ।
त्यसैगरी नवीकरण नभएका सदस्यहरूको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण, १४औँ महाधिवेशनमा रोकिएका सदस्यहरूको विवरण अद्यावधिक तथा स्थानान्तरण भएका सदस्यहरूको मिलान प्रक्रिया असार २० गतेभित्र पूरा गर्नुपर्नेछ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका सदस्यता अद्यावधिक तथा नयाँ वितरण कार्य असार १० गतेभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ।
प्रवासी संगठनको अभिलेख व्यवस्थित बनाउन पार्टीले समयसीमा कडाइका साथ लागू गर्ने स्पष्ट संकेत दिएको छ।
पार्टी प्रवेश गरेका तथा अन्य दलबाट समाहित भएका सदस्यहरूको अभिलेख व्यवस्थापन पनि असार २० गतेभित्र टुंग्याउनुपर्ने व्यवस्था गरिएको छ।
यी सबै प्रक्रियाका लागि पार्टीले जिम्मेवार सम्पर्क व्यक्ति तोकेको छ।
यसबीच, सदस्यता व्यवस्थापन प्रक्रियालाई लिएर पार्टीभित्र असन्तुष्टि र मतभेद पनि देखिएको छ।
पूर्वसभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहले केही प्राविधिक तथा नीतिगत विषयमा असहमति जनाउँदै आएका छन्।
यद्यपि पार्टी नेतृत्वले संगठन सुदृढीकरणका लागि सदस्यता अद्यावधिकलाई समयमै सम्पन्न गर्न दबाब बढाएको छ।
झापा पुगेका सभापति गगन थापाले समयमै अद्यावधिक नगर्ने सदस्यलाई पार्टीले मान्यता नदिने स्पष्ट चेतावनी दिएका छन्।
कांग्रेसले आगामी महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई संगठन पुनर्संरचनाको महत्वपूर्ण चरणका रूपमा अघि बढाएको छ।

