शुक्रबार, असार १९,२०८३ 12:13:09
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 12:13:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्को कम्पनी किन्न हतारिएको ओम मेगाश्री आफैं घाटामा, हातमा नगद ६ लाख मात्रै

तेस्रो त्रैमाससम्म ४ करोड ९ लाख घाटा, सञ्चित नोक्सानी ७ करोड ७३ लाख; यही अवस्थामा रोयल फर्मास्यूटिकल्स अक्वायर गर्ने विवादास्पद अजेण्डा साधारणसभामा लैजाँदै

Laxmi Sunrise Bank Limited
अर्को कम्पनी किन्न हतारिएको ओम मेगाश्री आफैं घाटामा, हातमा नगद ६ लाख मात्रै

काठमाण्डौ । अर्को औषधि उत्पादक कम्पनी रोयल फर्मास्यूटिकल्स प्रालि अक्वायर गर्ने विवादास्पद प्रस्ताव अघि सारेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड आफैं कमजोर वित्तीय अवस्थामा रहेको देखिएको छ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ओम मेगाश्री ४ करोड ९ लाख ६९ हजार रुपैयाँ खुद घाटामा छ। अघिल्लो त्रैमाससम्म कम्पनीको घाटा ३ करोड ८४ लाख रुपैयाँ थियो। अर्थात् कम्पनीको घाटा झन् बढेको छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सञ्चालन आम्दानी १३ करोड ९१ लाख रुपैयाँ देखिए पनि कुल खर्च १८ करोड ११ लाख रुपैयाँ पुगेको छ। वित्तीय खर्च मात्रै ३ करोड ९८ लाख रुपैयाँ, ह्रासकट्टी तथा अमोर्टाइजेसन खर्च ३ करोड ३१ लाख रुपैयाँ र कार्यालय तथा प्रशासनिक खर्च ५ करोड ५२ लाख रुपैयाँ पुगेको छ। यसले कम्पनीको आम्दानीले खर्च धान्न नसकेको देखाउँछ।

अझ गम्भीर पक्ष, कम्पनीको सञ्चित नाफा ऋणात्मक छ। तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ७३ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ भए पनि कुल इक्विटी ५८ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको नगद अवस्था पनि निकै कमजोर देखिन्छ। वित्तीय विवरणअनुसार कम्पनीसँग नगद तथा नगदसरह रकम जम्मा ६ लाख २३ हजार रुपैयाँ मात्रै छ। तर, दीर्घकालीन ऋण ५७ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन ऋण २८ करोड रुपैयाँ पुगेको छ। यसरी हेर्दा कम्पनीमाथि कुल ऋणको दबाब ८५ करोड रुपैयाँभन्दा बढी छ।

यही कमजोर वित्तीय अवस्थाबीच कम्पनीले रोयल फर्मास्यूटिकल्स प्रालिलाई प्राप्ति गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ। कम्पनीले असार २८ गते चितवनस्थित उद्योग परिसरमा विशेष साधारणसभा बोलाउँदै रोयल फर्मास्यूटिकल्स प्राप्ति, डीडीए प्रतिवेदन, शेयर स्वाप अनुपात, शेयर जारी तथा बाँडफाँट, पूँजी संरचना संशोधन र नियामक निकायबाट स्वीकृति लिने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव अघि सारेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि नै ओम मेगाश्रीले अर्को कम्पनी अक्वायर गर्ने प्रक्रिया र त्यसका लागि अघि सारिएका अजेण्डामाथि कानूनी तथा सुशासनसम्बन्धी प्रश्न उठिसकेको छ। तर, ती प्रश्नको स्पष्ट जवाफ नदिई कम्पनीले शेयरधनीबाट व्यापक अधिकार अनुमोदन गराउने तयारी गरेको देखिन्छ।

कम्पनीको वित्तीय विवरणमै अघिल्लो त्रैमासमा १ करोड २७ लाख रुपैयाँभन्दा बढी रकम गल्तीले दोहोरो बुक भएको र अहिले सच्याइएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा वित्तीय पारदर्शिता, मूल्यांकन प्रक्रिया र शेयर स्वाप अनुपातमाथि थप प्रश्न उठ्नु स्वाभाविक हो।

अब शेयरधनीले विशेष साधारणसभामा केही गम्भीर प्रश्न सोध्नुपर्ने देखिन्छ-घाटामा रहेको कम्पनीले अहिले नै अर्को कम्पनी किन किन्न खोज्दैछ? रोयल फर्मास्यूटिकल्सको वास्तविक मूल्यांकन के हो? शेयर स्वाप अनुपात कसरी निर्धारण भयो? यो प्राप्तिपछि ओम मेगाश्रीको घाटा घट्छ कि झन् बढ्छ? र सबैभन्दा महत्त्वपूर्ण, यो प्रक्रियाबाट आम शेयरधनी लाभान्वित हुन्छन् कि केही सीमित समूह?

ओम मेगाश्रीको पछिल्लो वित्तीय विवरणले स्पष्ट संकेत गर्छ—कम्पनी पहिले आफ्नै वित्तीय स्वास्थ्य सुधार्नुपर्ने अवस्थामा छ। तर, कम्पनी भने उल्टै अर्को कम्पनी अक्वायर गर्ने हतारोमा देखिन्छ। यसैले अब नियामक निकाय र शेयरधनी दुवैले यो प्रक्रियालाई सतर्कताका साथ हेर्नुपर्ने भएको छ।

अध्यक्ष के भन्छन् ?

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भने कम्पनीले कुनै पनि गैरकानूनी काम नगरेको दाबी गरेका छन्। बिजशालासँग कुरा गर्दै उनले ओम मेगाश्रीको वित्तीय तथा व्यावसायिक अवस्था कमजोर नभई विस्तारको चरणमा रहेको जिकिर गरे।

श्रेष्ठका अनुसार नेपालको औषधि बजार अझै आयातमा निर्भर रहेकाले स्वदेशी उत्पादन क्षमता बढाउन सक्षम आधार भएको अर्को कम्पनीलाई प्राप्ति गर्न लागिएको हो। उनले रोयल फर्मास्यूटिकल्सको प्राप्ति प्रक्रिया कम्पनीको दीर्घकालीन व्यावसायिक विस्तार, उत्पादन विविधीकरण र आत्मनिर्भर औषधि उद्योग निर्माणको रणनीतिक कदम भएको बताए।

“हामीले कुनै गैरकानूनी काम गरेका छैनौं। कम्पनीलाई अझ विस्तार गर्ने, औषधिमा नेपालको परनिर्भरता घटाउने र स्वदेशमै बलियो उत्पादन आधार बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाएका हौं,” श्रेष्ठले भने।

उनले आफू विदेशमा सहज जीवन बिताउन सक्ने अवस्था हुँदाहुँदै बेल्जियमको ‘रातो पासपोर्ट’ त्यागेर नेपालमै केही गर्ने उद्देश्यले फर्किएको उल्लेख गर्दै लगानीकर्ता, नियामक र सञ्चारमाध्यमबाट सकारात्मक वातावरणको अपेक्षा रहेको बताए। आफू समाजसेवीसमेत रहेको दाबी गर्दै श्रेष्ठले उद्यम गर्ने व्यक्तिलाई निरुत्साहित गर्नेभन्दा पनि तथ्यका आधारमा मूल्यांकन गरिनुपर्ने धारणा राखे।

सम्बन्धित समाचारहरु :

-आज ओम मेगाश्री, भोलि अरू पनि ! पूँजीबजारमा नयाँ विकृतिको संकेत

-'ब्याकडोर लिस्टिङ'को बाटो खुल्दैछ ?ओम मेगाश्रीको एउटा खेलले बजारमा गम्भीर विवाद

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.