काठमाण्डौ । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक केही बेरका लागि स्थगित गरिएको छ।
संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार बैठक सञ्चालनका क्रममा साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।
बैठक सुरु भएको करिब १७ मिनेटपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएको थियो। अडियो नआउँदा बैठकको रेकर्डिङमा समेत समस्या देखिएको भन्दै बैठक स्थगित गरिएको प्रवक्ता गिरीले जानकारी दिए। उनका अनुसार प्राविधिक समस्या समाधान भएलगत्तै बैठक पुनः सुरु हुनेछ।
आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर आएका अध्यादेश प्रतिस्थापन विधेयकसहितका विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। साथै, विनियोजन विधेयकमाथि छलफल गर्ने विषय पनि कार्यसूचीमा समावेश छ।

