काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको हालै सम्पन्न भ्रमणपछि देशका आर्थिक नीति तथा सुधार कार्यक्रमहरूबारे विभिन्न सरोकारवालाहरूसँग विस्तृत छलफल सम्पन्न गरेको छ।
डा. सोनाली जैन–चन्द्र, आईएमएफ एसिया तथा प्रशान्त विभागकी उप–निर्देशकको नेतृत्वमा आएको टोलीमा नेपालका लागि मिसन प्रमुख डा। सरवत जहाँ र आईएमएफ आवासीय प्रतिनिधि प्रणव गुप्ता सहभागी थिए।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग भेट गरी हालको आर्थिक अवस्था, समष्टिगत आर्थिक दृष्टिकोण तथा दीर्घकालीन विकास र रोजगारी सिर्जना गर्ने नीतिगत प्राथमिकताबारे छलफल गरेको छ।
त्यस्तै, प्रतिनिधिमण्डलले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सदस्यहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरेको छ। उक्त छलफलमा आईएमएफले नेपालसँगको आफ्नो संलग्नता, हालै सम्पन्न विस्तारित कर्जा सुविधा कार्यक्रम तथा समष्टिगत र संरचनात्मक नीतिगत विषयहरूबारे प्रस्तुति दिएको थियो। छलफललाई खुला, रचनात्मक तथा जानकारीमूलक भएको बताइएको छ।
आईएमएफ टोलीले छलफलका क्रममा सांसदहरूबाट आएका नीतिगत सुझाव, सरोकार र दृष्टिकोणहरू पनि सुनेको जनाएको छ। भ्रमणको अन्त्यमा डा. जैन–चन्द्रले नेपाल सरकार र सरोकारवालाहरूले देखाएको आतिथ्यप्रति आभार व्यक्त गर्दै, अर्थमन्त्री, राष्ट्र बैंक गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संसदका सदस्यहरू तथा अन्य सरोकारवालासँग भएका छलफलहरू अत्यन्त उपयोगी र भविष्य उन्मुख रहेको बताइन्।
उनले आईएमएफ र नेपालबीचको दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउँदै दिगो तथा समावेशी आर्थिक विकासका लागि सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।
यस भ्रमणका क्रममा आईएमएफ टोलीले थिंक ट्यांक, नागरिक समाज, शैक्षिक क्षेत्र तथा जेन–जी समुदायका प्रतिनिधिहरूसँग पनि छुट्टाछुट्टै छलफल गरेको थियो।
आईएमएफले सन् १९६१ देखि नेपालसँग रहँदै आएको आफ्नो लामो साझेदारीलाई पुनः पुष्टि गर्दै भविष्यमा पनि आर्थिक सुधार, स्थायित्व र समावेशी वृद्धिका लागि नीतिगत संवादलाई निरन्तरता दिने जनाएको छ।

