काठमाण्डौ । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि केवल धार्मिक वा शोकको कार्यक्रममा सीमित रहेन। राजधानी तेहरानका सडकमा लाखौं मानिस उत्रिएर अमेरिका र इजरायलविरुद्ध चर्को नाराबाजी गरेसँगै यो कार्यक्रमले इरानको भावी राजनीतिक र सैन्य दिशाबारे स्पष्ट सन्देश दिएको छ।
शनिबार बिहानदेखि सुरु भएको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा हजारौं होइन, लाखौं समर्थक तेहरानस्थित इमाम खुमेनी ग्रान्ड मुसल्ला मस्जिदमा भेला भएका थिए। इरानी सञ्चारमाध्यमका अनुसार यो हालसम्मकै सबैभन्दा ठूलो जनसहभागिता हुने कार्यक्रममध्ये एक बन्न सक्ने अनुमान गरिएको छ। पूरा एक सातासम्म चल्ने अन्त्येष्टि कार्यक्रममा करिब १ करोड ५० लाखदेखि २ करोड मानिस सहभागी हुन सक्ने सरकारी अनुमान छ।
खामेनीसँगै हालैको आक्रमणमा मारिएका उनका परिवारका अन्य सदस्यहरूको शव पनि राष्ट्रिय झण्डाले ढाकेर राखिएको थियो। श्रद्धाञ्जली दिन आएका सर्वसाधारण भावुक देखिए भने भीडबाट लगातार ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नाराहरू घन्किरहेका थिए। प्रदर्शनकारीहरूले ‘बदला’को माग गर्दै विभिन्न पोस्टर पनि प्रदर्शन गरेका थिए।
खामेनीको अन्तिम यात्रा ६ जुलाई मा तेहरानबाट सुरु हुनेछ। त्यसपछि शवलाई क्रमशः इरान, इराकका पवित्र शहर नजफ र करबला हुँदै ९ जुलाई मा इरानको दोस्रो ठूलो शहर मशहदस्थित इमाम रजा दरगाह परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिने कार्यक्रम छ।
इमाम रजा शिया मुस्लिमहरूको अत्यन्त श्रद्धेय धार्मिक व्यक्तित्व मानिन्छन्। शिया परम्पराका १२ इमाममध्ये इरानको भूमिमा समाधिस्थ गरिएका एकमात्र इमाम उनी नै हुन्। यही कारण मशहद मक्का, मदिना र करबलापछिको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल मानिन्छ।
शोकसँगै कूटनीतिक तनाव
अन्त्येष्टिका बीच इरानले आफ्नो कूटनीतिक र सुरक्षा रणनीतिमा पनि उल्लेखनीय परिवर्तन गरेको छ। तेहरानले अमेरिकासँग चलिरहेको अप्रत्यक्ष शान्ति वार्ता तत्कालका लागि रोकेको छ। साथै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का निरीक्षकहरूलाई आफ्ना प्रमुख आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति नदिने निर्णयसमेत गरेको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई ‘मानवीय आधार’मा अन्त्येष्टि सम्पन्न गर्न एक साताको समय दिएको दाबी गरेका छन्। सो अवधि सकिएपछि अमेरिकाले आफ्ना सर्तहरू स्वीकार गर्नुपर्ने उनको भनाइ सार्वजनिक भएको छ।
‘रक्षात्मक’ बाट ‘आक्रामक’ रणनीतितर्फ
खामेनीको हत्यापछि इरानले आफ्नो सैन्य तथा सुरक्षा रणनीति पुनःपरिभाषित गरेको संकेत दिएको छ। नयाँ सर्वोच्च नेतृत्वअन्तर्गत तेहरान अब पहिलेभन्दा बढी आक्रामक ढंगले अघि बढ्ने तयारीमा रहेको विश्लेषण भइरहेको छ।
भूराजनीतिक विश्लेषकहरूका अनुसार अमेरिका र इजरायलले इरानमा सत्ता परिवर्तन गराउन नसके पनि इरानको रणनीतिक सोच भने पूर्ण रूपमा परिवर्तन गरिदिएका छन्। त्यसको सबैभन्दा ठूलो संकेत हर्मुज स्ट्रेट सम्बन्धी नयाँ रणनीति हो।
विश्वको करिब पाँचौं हिस्सा तेल आपूर्ति हुने यही समुद्री मार्गलाई इरानले आफ्नो सबैभन्दा प्रभावकारी रणनीतिक दबाबको साधन बनाउने संकेत दिएको छ।
इरानको स्पष्ट सन्देश छ—यदि इरानमा शान्ति कायम रहँदैन भने विश्वको ऊर्जा आपूर्ति पनि सामान्य अवस्थामा रहने छैन।
यसले मध्यपूर्वमा केवल राजनीतिक तनाव मात्रै होइन, विश्वव्यापी तेल बजार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय व्यापारमा समेत नयाँ अनिश्चितताको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

