काठमाण्डौ । के तपाईसँग डेनमार्क मुद्रा डेनिस क्रेनर(डिकेके) बैंक नोटहरु छन् ? यदि छन् भने तपाईले समयमै सटही नगरे अब ती सबै कागजको खोस्टामा परिणत हुँदैछन् ।
डेनमार्क सरकारले सन् २०२५ को मे ३१ तारिख पश्चात डेनिस क्रोनर(डिकेके) बैंक नोटहरुको कानूनी ग्राहयता खारेज गर्दैछ । सोही कारण देखाउँदै नेपालको केन्द्रीय बैंक, नेपाल राष्टबैंकले केहीबेरअघि एक सूचना प्रकाशित गरी आफूसँग त्यस्ता नोटहरु भएमा फागुन मसान्तभित्र सटही गराउन आह्वान गरेको छ ।
'२०८१ फागुन मसान्तभित्र( सन् २०२५ मार्च १३ भित्र) प्रचलित व्यवस्थाबमोजिम यस बैंकको बैंकिंग विभाग, बैंकिंग कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्रप्राप्त मनिचेञ्जरहरुबाट सटही गर्नु गराउनुहुन सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ ।' राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले भनेको छ-'फागुन मसान्तपश्चात त्यस्ता बैंक नोटहरु सटही गर्न यस बैंक लगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेञ्जरहरु र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरु बाध्य नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                