शनिबार, श्रावण २,२०८३ 08:14:06
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:14:06
Bizshala
Global IME Bank Limited

डिडीसीपछि मकालु : प्रधानमन्त्री बालेनको फेसबुकबाट नेपालको मार्केटिङ

ओझेलका सरकारी उत्पादन र गन्तव्यलाई राष्ट्रिय बहसमा ल्याउने प्रयास

डिडीसीपछि मकालु : प्रधानमन्त्री बालेनको फेसबुकबाट नेपालको मार्केटिङ
New Office

काठमाण्डौ । प्रधानमन्त्रीको सामाजिक सञ्जालमा सामान्यतः सरकारका निर्णय, कूटनीतिक भेटघाट, मन्त्रिपरिषद्का उपलब्धि, राजनीतिक अपिल वा राष्ट्रिय संकटका सन्देश देखिनु स्वाभाविक मानिन्छ। तर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को फेसबुक पेजमा पछिल्ला दिनहरूमा फरक दृश्य देखिन थालेको छ।

कहिले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडीसी) का उत्पादनको प्रचार, कहिले नेपाली उत्पादन प्रयोग गर्न प्रेरित गर्ने सन्देश, त कहिले पर्यटकको भीडले नछोएका हिमाली गन्तव्यको यात्रा–मार्ग सार्वजनिक गर्दै उनी प्रधानमन्त्रीको परम्परागत भूमिकाभन्दा केही फरक देखिन खोजिरहेका छन्।

राजनीतिक भाषणभन्दा उत्पादनको गुणस्तर, सरकारी निर्णयभन्दा पर्यटनको सम्भावना र औपचारिक सन्देशभन्दा यात्राको अनुभवलाई सामाजिक सञ्जालमा प्राथमिकता दिइरहेका बालेन सम्भवतः नेपालको इतिहासमै यस्ता पहिलो प्रधानमन्त्री बन्न पुगेका छन्, जसले सरकारी उत्पादनदेखि दुर्गम पर्यटकीय गन्तव्यसम्मको प्रत्यक्ष ‘ब्रान्ड एम्बेसडर’ बन्ने प्रयास गरिरहेका छन्।

यही श्रृंखलामा प्रधानमन्त्री बालेनले शनिबार पूर्वी नेपालको दुर्गम तर अनुपम हिमाली क्षेत्र मकालु–बरुणको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १७ दिने मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका छन्।

उनले फेसबुकमा भिडियोसहित यात्रा तालिका राख्दै मकालु–बरुण उपत्यकालाई केवल हिमाल चढ्नेहरूको गन्तव्यका रूपमा होइन, प्राकृतिक सौन्दर्य, जैविक विविधता र मौलिक हिमाली जीवनशैलीको विशाल भण्डारका रूपमा प्रस्तुत गरेका छन्।

नेपालको पर्यटन प्रचारको पुरानो शैली प्रायः सरकारी विज्ञापन, विदेशी पर्यटन मेलामा स्टल, ब्रोसर वा औपचारिक नारामै सीमित हुने गरेको छ। तर प्रधानमन्त्री स्वयंले आफ्नो लोकप्रिय डिजिटल प्लेटफर्मबाट कुनै गन्तव्यको यात्रा–नक्सा, दृश्य र उपयुक्त मौसमसमेत खुलाएर सार्वजनिक गर्नु फरक अभ्यास हो।

मकालु बेस क्याम्पको यात्रा काठमाडौंबाट तुम्लिङटार हुँदै नुम पुगेर सुरु हुन्छ। त्यसपछि पदयात्राले मकालु–बरुण राष्ट्रिय निकुञ्ज, बरुण उपत्यका, शिवधारा झरना, लाङ्माले खर्क हुँदै समुद्री सतहबाट ४ हजार ८७० मिटर उचाइमा रहेको मकालु बेस क्याम्पसम्म पुर्‍याउँछ।

प्रधानमन्त्रीले सार्वजनिक गरेको सामग्रीमा केवल ‘घुम्न जाऔँ’ भन्ने अपिल छैन। त्यसमा यात्राको अवधि, मार्ग, कठिनाइ, मौसम र गन्तव्यको विशेषता पनि समेटिएको छ। उनले यसलाई चुनौतीपूर्ण तर कम भीडभाड भएको नेपालको आकर्षक हिमाली पदमार्गका रूपमा चित्रण गरेका छन्।

वसन्त अर्थात् मार्चदेखि मे र शरद् अर्थात् सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई उपयुक्त समय भन्दै उनले आन्तरिक तथा बाह्य पर्यटकलाई मकालु–बरुण क्षेत्रको यात्रा गर्न आग्रह गरेका छन्।

यो सन्देशको महत्व केवल एउटा फेसबुक पोस्टमा सीमित छैन। नेपालको पर्यटन बजार अझै पनि सगरमाथा, अन्नपूर्ण, पोखरा, चितवन र लुम्बिनीको वरिपरि केन्द्रित छ। जबकि मकालु–बरुणजस्ता क्षेत्र प्राकृतिक सम्पदा भएर पनि पर्याप्त प्रचार, पूर्वाधार, सूचना र सहज पहुँचको अभावमा मुख्य पर्यटन नक्सामा बलियोसँग आउन सकेका छैनन्।

प्रधानमन्त्रीको एउटा पोस्टले तत्काल पर्यटकको भीड ल्याइहाल्छ भन्ने छैन। तर राज्यको सबैभन्दा शक्तिशाली राजनीतिक पदमा बसेको व्यक्तिले ओझेलमा परेका गन्तव्यलाई सार्वजनिक बहसमा ल्याउनु आफैंमा महत्वपूर्ण संकेत हो। यसले स्थानीय तह, पर्यटन व्यवसायी, ट्रेकिङ एजेन्सी र सम्बन्धित सरकारी निकायलाई पनि त्यस क्षेत्रको सम्भावनातर्फ ध्यान दिन दबाब सिर्जना गर्न सक्छ।

बालेनको यो शैलीलाई दुई कोणबाट हेर्न सकिन्छ। पहिलो, यो प्रधानमन्त्रीको अस्वाभाविक तर प्रभावकारी जनसम्पर्क रणनीति हो-जहाँ उनी सरकारको उपलब्धि सुनाउने मात्र होइन, राज्यका उत्पादन र सम्भावनालाई बजारसम्म पुर्‍याउने भूमिका खेलिरहेका छन्। दोस्रो, यो राज्यका संस्थान र पर्यटन निकायले गर्नुपर्ने काम प्रधानमन्त्रीको व्यक्तिगत सामाजिक सञ्जालमा आइपुगेको संकेत पनि हो।

डिडीसीको उत्पादन किन नागरिकले रोज्ने ? नेपालको कुनै सुन्दर तर ओझेलको गन्तव्य किन पर्यटकको प्राथमिकतामा पर्नुपर्छ ? यी प्रश्नको जवाफ खोज्ने काम सामान्यतः सम्बन्धित संस्थान, पर्यटन बोर्ड र मन्त्रालयको हो। तर ती निकायको प्रचार संयन्त्र कमजोर हुँदा प्रधानमन्त्री स्वयंले ‘प्रमोटर’ को भूमिका लिनुपरेको जस्तो देखिन्छ।

यद्यपि, प्रधानमन्त्रीको प्रचारले मात्र पर्यटनको दिगो विकास सम्भव हुँदैन। मकालु–बरुणजस्ता पदमार्गमा सुरक्षित ट्रेल, भरपर्दो सूचना, उद्धार प्रणाली, आवास, सञ्चार, स्थानीय रोजगारी र वातावरण संरक्षणको सन्तुलन अनिवार्य हुन्छ। सामाजिक सञ्जालमा सुन्दर भिडियो देखाएर पर्यटक पठाउने तर आधारभूत संरचना नबनाउने हो भने त्यसले अपेक्षा मात्र बढाउँछ।

तर एउटा कुरा भने स्पष्ट छ: प्रधानमन्त्री बालेनले प्रधानमन्त्री पदलाई केवल राजनीतिक निर्णयको केन्द्रका रूपमा होइन, नेपालको उत्पादन, सम्भावना र पहिचान बेच्ने ‘राष्ट्रिय प्लेटफर्म’ का रूपमा प्रयोग गर्न खोजिरहेका छन्।

कहिले डिडीसीको उत्पादन, कहिले मकालु(बरुणको हिमाली सौन्दर्य)प्रधानमन्त्रीको फेसबुकले अब केवल सरकारको सूचना पाटी होइन, नेपालभित्रै लुकेका सम्भावनाको डिजिटल शोकेस बन्ने संकेत दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.