काठमाण्डौ । पछिल्लो समय सेयरबजारले गति लिन सकिरहेको छैन । नेप्से परिसूचक २६ सयकै आसपासमा रुमलिएको छ । बजार ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको सेयरभाउ फेरी विस्तारै ५२ हप्ताकै लो लेभलमा पुग्न लागेको छ ।
नेप्सेको फ्लोरसिटअनुसार अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो प्राइस आसपास पुगेको छ । बीमा कम्पनीहरुको सेयरमूल्य बोनस सेयर र हकप्रद सेयरका कारण समायोजन भएकाले पनि घटेको देखिएको हो ।
तर सबै बीमा कम्पनीको अवस्था त्यस्तो देखिएको छैन । बोनस सेयर वा हकप्रद जारी नगरेका केही बीमा कम्पनीको मूल्य पनि ह्वात्तै घटेका छन् ।
नेप्सेका अनुसार १३ बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो विन्दु आसपास पुगेको छ । जसमा पाँच जीवन बीमा कम्पनी छन् भने ८ निर्जीनव बीमा कम्पनी छन् ।
१३ बीमकमध्ये ८ कम्पनीको मात्रै बोनस सेयर र हकप्रदबाट मूल्य समायोजन भएको थियो भने बाँकी पाँच कम्पनीको भने यी कारणबाट मूल्य समायोजन नै नभई घटेको देखिएको छ । जसमा हिमालयन एभरेष्ट, आइएमई लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन् ।
५२ हप्ताकै लो प्राइस आसपासमा पुग्ने कम्पनीहरुमा भने एलआइसी नेपाल, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ रहेका छन् । यी कम्पनीहरुको सेयरभाउ करिब एक प्रतिशतले घटेमा ५२ हप्ताकै लो प्राइसमा पुग्ने निश्चित छ ।
पछिल्लो समय सेयरबजारमा सूचीकृत कम्पनीहरुको बोनस सेयर र हकप्रद सेयरमा लगानीकर्ता आकर्षित देखिँदैनन् । लगानीकर्ता आकर्षित नहुँदा बीमा कम्पनीहरुले बोनस सेयर र हकप्रद जारी गरेपनि उल्टै सेयरभाउ घट्न पुगेको छ ।
नेपाल बीमा प्राधिकरणको बीमा कम्पनीको चुक्तापूँजी बृद्धि नीतिका कारण केही बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेका थिए भने केहीले हकप्रद सेयर जारी गरेका छन् ।
बीमा कम्पनीहरुले तोकेको पूँजी जुटाउनकै लागि भएपनि हकप्रद र बोनस सेयर जारी गरेका छन् । तर यस्तो अवस्थामा बीमा कम्पनीको पूँजी बृद्धि हुने तर त्यस अनुपातमै व्यवसाय नबढ्दा बीमकहरुको लाभांशदर घट्ने सम्भावना बढ्दछ ।
तर सूचीकृत कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुको वित्तीय अवस्था सन्तोषजनक नै देखिन्छ । वित्तीय सूचकहरुको आधारमा हेर्दा बीमा कम्पनीहरुको सेयरभाउ निकै कम देखिएको छ ।
विशेषगरी अहिले बजारमा लगानीकर्ताहरु बढी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ कम्पनीमा आकर्षित देखिएकाले पनि बीमा कम्पनीहरु छायाँमा परेका हुन् । सूचीकृत अन्य कम्पनीको तुलनामा बीमा कम्पनीहरुको पूँजी मध्यम वर्गमा देखिन्छ । यसरी लगानीकर्ताहरु लो क्यापतर्फ मात्रै आकर्षित हुँदा बीमा कम्पनीहरुको सेयरभाउ अझै घट्न सक्ने संकेत देखिन्छ ।
