काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा लघुबीमा कम्पनीहरु निकै चर्चामा छन् । हालसम्म तीन लघुबीमा कम्पनी नेप्सेमा सूचीकृत छन् । जसमा गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् ।
विशेषगरी लघुबीमा कम्पनीहरु थोरै पूँजी भएका कम्पनीमा गनिने भएका कारण अहिले लगानीकर्ताको रोजाईमा परेका छन् । धितोपत्र दोस्रो बजारमा लो क्याप वा मिड क्याप कम्पनी बढी चलिरहँदा लघुबीमा कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ ।
हालसम्म नेप्सेमा जीवन बीमातर्फको दुई लघुबीमा कम्पनी सूचीकृत छन् भने निर्जीवनर्फको नेपाल माइक्रो इन्स्योरेन्स मात्रै रहेको छ । लघुबीमा कम्पनीहरुको चुक्तापूँजी एउटै भएपनि जीवन र निर्जीवनतर्फका कम्पनीहरुको व्यवसाय गर्ने शैली फरक–फरक छ ।
यी कम्पनीहरुको व्यवसाय गर्ने क्षेत्र, सीमा र अवस्था एउटै किसिमको भएपनि नेपाल बीमा प्राधिकरणले तोकेअनुसार लघुजीवन बीमकले जीवन बीमा गर्ने र लघु निर्जीवन बीमकले निर्जीवन प्रकृतिका बीमा गर्नुपर्दछ । यसआधारमा पनि निर्जीवन लघुबीमक भन्दा जीवन लघुबीमकहरुको व्यवसाय केही बढी भएपनि दायित्व पनि त्यहीअनुरुप नै बढी पर्न जान्छ ।
नेप्सेमा सूचीकृत भएका जीवन लघुबीमा कम्पनी गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी दुई कम्पनी एउटै प्रकृतिको र सँगसँगै सञ्चालनमा समेत आएका हुन् ।
पछिल्लो समय बजारमा यी कम्पनीहरु निकै चर्चामा पनि छन्, तर चर्चा भएकै आधारमा अन्दाधुन्ध लगानी गरिहाल्नु पनि अनुचित हुन्छ । लगानीकर्ताले आफूले लगानी गर्न लागेको कम्पनीको वित्तीय अवस्था के कस्तो छ भनि अध्ययन गर्न आवश्यक हुन्छ । लो क्याप भएकै आधारमा र बजारमा कसैले सिफारिस गरेर लगानी गर्न उक्साएको भरमा लगानी गर्दा डुब्न सक्ने जोखिम बढी हुन्छ ।
लगानीकर्ताहरुले आफुले लगानी गर्न लागेको कम्पनीको अवस्थाको बारेमा जानकारी राख्दा उपयुक्त हुन्छ । विशेषगरी कम्पनीको व्यवसायको प्रकृति र अवस्था, आम्दानी, मुनाफा, दायित्वको अवस्था, रिजर्भ फण्डको अवस्था, इपीएस, नेटवर्थ र चुक्तापूँजीको अवस्थाको विषयमा अध्ययन गर्न सक्नुपर्दछ ।
गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स एउटै प्रकृतिका कम्पनी भएको हुनाले तेस्रो त्रैमाससम्मको रिर्पोटअनुसार कुन कम्पनी कुन सूचकमा बलियो देखिएको छ भनि तुलनात्मक अध्ययन गरिएको छ । तर यो अध्ययन दुईमध्ये कुनै पनि कम्पनीको सेयर खरिदका लागि सिफारिस भने होइन । लगानीकर्ताले सबै तथ्याङ्क आफैंले विश्लेषण गरेर सेयर खरिद गर्दा उचित हुन्छ ।
रिर्पोटअनुसार अधिकांश सूचकमा गार्डियन माइक्रो लाइफ अब्बल देखिएको छ । तर रिटेन्ड अर्निङ र जीवन बीमा कोषको आधारमा भने क्रेष्ट माइक्रो लाइफ बलियो देखिएको छ । भविष्यमा जोखिम बहन गर्न क्रेष्ट माइक्रो लाइफ कम्पनीले जीवन बीमा कोषमा १४ करोड ९७ लाख रुपैयाँ सञ्चित गरेको छ भने गार्डियन माइक्रो लाइफले १२ करोड ६५ लाख रुपैयाँ मात्रै सञ्चित गरेको छ ।
वित्तीय विवरणअनुसार हालको अवस्थामा गार्डियन माइक्रो लाइफ बलियो देखिएपनि भविष्यका लागि भने क्रेष्ट माइक्रो लाइफ बलियो बन्न सक्छ । हालको खुद नाफा, व्यवसाय, आम्दानी, आधारभुत पक्षमा समेत गार्डियन अब्बल देखिएपनि क्रेष्ट माइक्रो लाइफले बीमा कोषमा गार्डियनको भन्दा बढी रकम संचित गरेको छ । साथै आफ्ना कर्मचारी, बीमित र सेयरधनीहरुलाई समेत प्रतिफल बाँड्नका लागि कम्पनीले रिटेन्ड अर्निङमा समेत गार्डियनले भन्दा उल्लेख्य रकम सञ्चित गरेको छ ।
