काठमाण्डौ । सन् २०२५ को पहिलो ६ महिनामा विश्वभरका बीमकहरुले १०० बिलियन डलरबराबरको क्षति व्यहोरेका छन् । जसमध्ये ९० प्रतिशत भन्दा बढी अर्थात ९२ बिलियन डलर आगलागी र आधितुफानबाट भएको क्षतिका लागि तिरेको एओनले सार्वजनिक गरेको ‘ग्लोबल क्याटास्ट्रोफ रिक्यापः फर्स्ट हाफ २०२५’नामक प्रतिवेदनमा उल्लेख छ ।
यो वर्ष विश्वभरका बीमकहरुले व्यहोरेको घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । सन् २०२४ को पहिलो ६ महिनामा विश्वभरका बीमकहरुले ७१ बिलियन डलरबराबरको घाटा व्यहोरेका थिए । बीमकहरुले सन् २०११ को पहिलो ६ महिनामा हालसम्मकै उच्च घाटा व्यहोरेका थिए । त्यसबेला बीमकहरुले १४० बिलियन डलरबराबरको घाटा व्यहोरेका थिए ।
रिपोर्टका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा बीमकहरुले अमेरिकाको क्यालिफोर्नियामा भएको भिषण आगलागीमा ४० बिलियन डलर घाटा व्यहोरेका थिए । अमेरिकामा घटेका १९ वटा प्रकोपको घटानमा १८ वटामा बीमकहरुले १ बिलियन डलरभन्दा बढी घाटा व्यहोरेका छन् ।