काठमाण्डौ । देशभर सञ्चालनमा रहेका २९ वटा भन्सार कार्यालयमध्ये एक दर्जन कार्यालयबाट चालु आर्थिक वर्षमा कुनै पनि निर्यात नभएको पाइएको छ। भन्सार विभागको तथ्यांकले सबै कार्यालयबाट आयात भइरहेको देखाए पनि उल्लेख्य संख्याका भन्सार कार्यालय निर्यात गतिविधिविहीन हुनु व्यापार संरचनाको असन्तुलनको संकेतका रूपमा हेरिएको छ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनासम्म तातोपानी, सुथौली, सुनसरी, जनकपुर, महेशपुर, सति र भद्रपुर भन्सार कार्यालयबाट निर्यात शून्य रहेको छ। त्यस्तै, सिराहा, राजविराज, सुक्खा बन्दरगाह, टाँडी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पनि निर्यात भएको देखिँदैन।
निर्यात गतिविधि नभए पनि ती भन्सार कार्यालयहरू आयातमा भने सक्रिय देखिएका छन्। तथ्यांकअनुसार तातोपानी भन्सारबाट मात्रै २२ अर्ब ३२ करोड रुपैयाँबराबरको आयात भएको छ भने सुथौलीबाट ४ अर्ब ६० करोड र सुनसरी भन्सारबाट १ अर्ब १८ करोड रुपैयाँबराबरको आयात भएको छ।
आयात केन्द्रित भन्सार सञ्चालनले राजस्व संकलनमा योगदान गरे पनि दीर्घकालीन आर्थिक सन्तुलन र उत्पादनमुखी अर्थतन्त्रका लागि निर्यात विस्तार अपरिहार्य रहेको सरोकारवालाहरू बताउँछन्।

