काठमाण्डौ । प्रभु बैंक लिमिटेडका कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल बैंकिङ कसूरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, बैंकिङ कसूर मुद्दामा यसअघि नै अनुसन्धानमा रहेका प्रतिवादी अशोक शेरचनसमेतसँग सम्बन्धित प्रकरणमा संकलित तथ्य र प्रमाणको विश्लेषणका क्रममा डंगोलको संलग्नता देखिएको हो।
प्रहरीका अनुसार डंगोलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गर्दै प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रा.लि. लगायतमा प्रवाह गरिएको कर्जा दुरुपयोग गर्ने वा गराउने कार्यमा संलग्नता देखिएको छ।
यस आधारमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनबाट पक्राउ पूर्जी जारी गरिएको थियो। सोही पूर्जीका आधारमा उनलाई २०८२ चैत २ गते काठमाडौं महानगरपालिका–११, थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल डंगोलमाथि उच्च अदालत पाटनबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उक्त मुद्दामा थप व्यक्तिहरूमाथि समेत अनुसन्धान जारी रहेको छ।

