काठमाण्डौ । एनआईसी एशिया बैंक ले हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंक बाट पूर्वस्वीकृति प्राप्त गरेको छ। बैंकले हाल कायम रहेको साधारण सेयरको चुक्ता पूँजी रु. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको थियो।
सोही अनुसार बैंकले रु. ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकबाट पूर्वस्वीकृती पाएको हो ।
यस सम्बन्धमा बैंकले पूर्व सहमतिका लागि राष्ट्र बैंकसमक्ष निवेदन पेश गरेकोमा गत वैशाख १७ गते उक्त प्रस्तावमा स्वीकृति प्राप्त भएको जनाएको छ।
बैंकका अनुसार हकप्रद सेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिनेछ। सभाबाट अनुमोदन प्राप्त भएपछि मात्र सेयर निष्कासन प्रक्रिया अगाडि बढाइनेछ।

