काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सरकारले घोषणा गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अभियानलाई पूर्ण समर्थन जनाउँदै देशभरका उद्योगी–व्यवसायीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा ‘मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week)’ मनाउने निर्णय गरेसँगै महासंघले पनि अभियानप्रति आफ्नो ऐक्यबद्धता जनाएको हो ।
महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।
विज्ञप्तिअनुसार महासंघले आफ्ना सदस्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा आबद्ध व्यवसायीलाई बिक्री गरिने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची अनिवार्य रूपमा स्पष्ट देखिने गरी राख्न आग्रह गरेको छ ।
त्यसैगरी, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई पनि स्थानीय बजारमा मूल्यसूची राखिएको वा नराखिएको अनुगमन गर्न र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अभियान सफल बनाउन भूमिका खेल्न महासंघले अनुरोध गरेको छ ।
महासंघले सम्पूर्ण उद्योगी–व्यवसायीलाई पारदर्शी मूल्य प्रणाली अपनाउँदै उपभोक्तामैत्री बजार वातावरण निर्माणमा सहकार्य गर्न अपिल गरेको जनाएको छ ।

