Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !

Hyundai Nepal
रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !
Nabil Bank Limited

काठमाण्डौ । विद्युतीय चार पाङ्ग्रे सवारीको बजार बिस्तार भएसँगै पछिल्लो समय चीन लगायतका देशबाट विभिन्न ब्राण्डका गाडी नेपाल भित्र्याउने स्पर्धा चलेको छ । यो दौडमा देशका प्रतिष्ठित भनिएका व्यापारिक घरानादेखि अटोमोवाइल क्षेत्रमा केही गर्न खोज्ने नयाँ अनुहारहरुसम्मको सहभागिता देखिन्छ ।  

एउटै समूहले एकपछि अर्को र भ्याएसम्मका इभी ब्राण्डहरु नेपाल भित्र्याइरहेको बेला विगतमा तिनै समूहले पेट्रोल र डिजेल गाडीमा तँछाडमछाड गर्दै विभिन्न ब्राण्ड भित्र्याएका, तर बिक्रीपछिको सर्भिस लगायतमा ध्यान नदिंदा ग्राहक ठगिएको विषयतर्फ धेरैले ध्यान दिएका छैनन् ।  

अहिले एउटै समूह वा व्यापारिक घरानाले भ्याएसम्मका इभी ब्राण्डहरु भित्र्याइरहेको पाइन्छ । 

Shivam Cement
Sagarmatha Cement

विगतमा पेट्रोल र डिजेल गाडीमा समेत यस्तै स्पर्धा चल्ने गथ्र्यो । प्रभावशाली व्यापारिक समूह एउटैले भ्याएजति र सकेजति ब्राण्ड भित्र्याएको थियो । त्यसरी जति पायो, त्यति ब्राण्ड भित्र्याउने त्यस्ता समूहका कारण ग्राहक भने नराम्ररी ठगिने गरेका छन् ।  

गाडी आयात गरी बिक्री गर्दाताका मीठा र गुलिया अफर गर्ने व्यापारिक प्रतिष्ठानले गाडी बिक्री गरिसकेपछि भने ग्राहकको गुनासो समेत सुन्ने तत्परतासम्म देखाउँदैनन् । यो वा त्यो बाहानामा आफ्ना पुराना ग्राहकलाई लुट्ने, दुःख दिने र फेरि तिनै समूह इभी गाडी भित्र्याउन समेत सक्रिय हुने पट्यारलाग्दो दृश्य नेपालको अटोमोवाइल क्षेत्रमा देखिएको पनि यसतर्फ कसैले चासो दिएको छैन ।  

अटोमोवाइल क्षेत्रमा देखिएको तँछाडमछाडको अवस्था, गाडी बिक्रीका लागि कम्पनीहरुले दिने आकर्षक र अल्पकालीन अफर, गाडीकै मूल्यमा समेत मच्चाइरहेको लूट र गाडी किनिसकेका ग्राहकहरुलाई हदैसम्मको ठगी लगायतका विषयको ज्वलन्त उदाहरणको रुपमा रेनल्टलाई लिन सकिन्छ । 

कुनैबेला यस्तो समय थियो रेनल्टका गाडीहरुले नेपाली बजार तताएको थियो । चार पांग्रे निजी सवारी साधनमा रेनल्टका गाडीहरुको बजार निकै राम्रो ढंगले बिस्तार भएको थियो । रेनल्टका गाडी नेपाल भित्र्याई बिक्रीवितरण गरेको व्यापारिक घरानाले पनि पैसा कुस्त कमाएको थियो ।  

तर, अहिले रेनल्टका गाडी किन्ने ग्राहकहरु पुर्पुरोमा हात लगाउन बाध्य छन् । सेल्सपछिको सर्भिसमा उनीहरुले भनेजस्तो सेवा पाउन सकेका छैनन् । न स्पेयर पार्टस सहज ढंगले सुपथ मूल्यमा पाइन्छ, न त कम्पनीले आफ्ना समस्याको सुनुवाई नै गर्ने गर्छ । कम्पनीले बेवास्ता गरेपछि महङ्गो मूल्य हालेर रेनल्टका कार किनेका ग्राहकहरुलाई आफूले चलाइरहेको गाडी निल्नु न ओकल्नु भएको छ ।  

कुस्त कमायो, अफर दिएर ग्राहक फसायो

रेनल्टका लागि नेपालको आधिकारिक बिक्रेता एड्भान्स मोटर्स हो । यो कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल हुन् । उनी नेपालको प्रतिष्ठित व्यापारिक घराना विशाल ग्रुपका प्रतिनिधि हुन् । फ्रान्सको प्रविधिमा भारतमा निर्मित रेनल्ट कम्पनीका गाडीहरु नेपाल भित्र्याएर निकै राम्रो व्यापार गरेको थियो एड्भान्स मोटर्सले ।  

विशाल ग्रुप अन्तर्गतको कम्पनीले २०७३ असोजदेखि रेनल्टका गाडीहरु नेपाल भित्र्याएर आक्रामक बजार बिस्तार गरेको थियो । २०७४ सालमा रेनल्टको क्वीड गाडी नेपाली बजारमा बिक्री हुने ह्याचब्याक सेगमेन्टमा तेश्रो धेरै बिक्री हुने कार बनेको थियो । त्यसबेला आठ महिनाको छोटो अवधिमै कम्पनीले १ हजार बढी क्वीड बिक्री गरेको थियो ।  

प्रालिले नेपाली बजारमा तीन मोडलका कार बिक्रीबाट धेरै कमाएको देखिन्छ । रेनल्टका कार निर्माता कम्पनी फ्रान्स भए पनि यो अहिले भारतमै उत्पादन हुन्छ । नेपाली बजारमा इन्ट्री लेभल र एसयूभी कारको माग बढिरहेको समयमै कम्पनीले सोहीअनुसारको प्रडक्ट बजारमा ल्याउन सक्दा मार्केट तताएको थियो ।  

रेनल्टका गाडीको बुट स्पेस, सजावट, डिजाइन, माइलेज र इञ्जिन क्षमता नै ग्राहकको मन जित्नसक्ने आधार भएको कम्पनीका अधिकारीहरुले त्यसबेला बताउने गरेका थिए । त्यसबेला कम्पनीले प्रति १० हजार किलोमिटरमा सर्भिस सेवा दिने र पाँच वर्षको वारेन्टी पनि उपलब्ध गराइने घोषणा गरेको थियो । साथै रेनल्ट गाडीका पार्टपुर्जा रिजनेबल मूल्यमा सहजै पाउन सकिने भन्दै विभिन्न अफर समेत ल्याएको थियो । स्पेयर्स पार्टस्मा ३० प्रतिशतसम्म छुट दिने अफर ल्याएर ग्राहकलाई लोभ्याउने काम गरिएको थियो ।  

डिलर र सर्भिस सेन्टर धमाधम बन्द

एड्भान्स मोटर्सको वेबसाइटकाअनुसार हाल रेनल्ट गाडीका आधिकारिक डिलर देशका १७ वटामा ठाउँमा छन् । काठमाण्डौको थापाथली, सिरहाको लहान, भैरहवा, इटहरी, भक्तपुर, काठमाण्डौको नक्साल, नेपालगञ्ज, वीरगञ्ज, पोखरा, दाङको घोराही, काभ्रेको बनेपा, विराटनगर, जनकपुर, झापाको विर्तामोड, नारायणगढ, धनगढी र बुटवलमा डिलर रहेका वेबसाइटमा उल्लेख छ ।  

तर, यीमध्ये अधिकांशले रेनल्टसँग सहकार्य गर्न छाडिसकेका छन् । तर, यो विषयसँग सम्बन्धित सूचना कम्पनीले लुकाउने प्रयास गरेको छ । उदाहरणका लागि सिरहाको लहानमा रहेको भनिएको डिलरलाई लिन सकिन्छ । त्यहाँ भाग्य महालक्ष्मी अटोमोवाइल्स रेनल्टको आधिकारि डिलर थियो । तर, विगत २ वर्षदेखि उसले रेनल्टसँगको सहकार्य र सम्पर्क तोडिसकेको छ । ‘हामीसँग २ वर्षदेखि रेनल्टको कुनै पनि गाडी छैन । स्पेयर पार्टसको विजिनेश पनि छैन ।’ महालक्ष्मी अटोमोवाइल्सका एक प्रतिनिधिले बिजशालासँग भने–‘रेनल्टको नाममा ग्राहकलाई ठगी गर्ने काम भयो । यो लफडामा नफसौं भनेर हामीले सहकार्य तोडेका हौं ।’  

उता, भैरहवामा रहेको डिलरको हालत पनि उस्तै छ । भैरहवा अटो कम्पनी प्रालिलाई रेनल्टले डिलर बनाएको छ, तर वेबसाइटमा मात्रै । यो कम्पनीले रेनल्ट गाडी बिक्री गर्न छाडेको २ वर्ष बढी भइसक्यो । यो डिलरबाट मात्रै ४०० बढी गाडी बिक्री भएको थियो । तर, अहिले ग्राहकहरुको गुनासो सुन्ने कोही छैन । एड्भान्स मोटर्सबाट वास्ता नभएपछि भैरहवा अटोले डिलरसीप छाडिदिइसकेको छ । ‘पछिल्लो समय गाडी नै पठाएनन् । एड्भान्स मोटर्सबाट फलोअप पनि भएन ।’ भैरहवा मोटरका एक प्रतिनिधिले भने–‘रेनल्टको स्पेयर पार्टस सहज ढंगले पाउन छाडिसक्यो । पाइहाले पनि अत्यन्त महङ्गो मूल्य तिर्न ग्राहक बाध्य छन् । ग्राहकसँगको सम्बन्ध बिग्रिने डरका कारण अहिले हामीले रेनल्ट छाडेर मारुती सुजुकीको डिलरसीप चलाइरहेका छौं । रेनल्ट नेपाल ल्याउनेहरुले आफ्टर सेल्स सर्भिसमा फोकस नै गरेनन् । ग्राहकलाई फसाइदिए ।’

भक्तपुर र नक्सालस्थित रेनल्टको डिलर बन्द भइसकेको छ ।  

विराटनगरको प्रतिष्ठित महावीर अटोमोवाइल्सले पनि रेनल्टको डिलरसीप छाडिसक्यो । ‘२०२१ का पुरानै स्टकहरु बिक्री गरिसकेपछि ६ महिनाअघिदेखि हामी अरु कम्पनीकै गाडीमा फोकस भएका छौं । सबै स्टक सल्टाइसकेपछि हामी पनि इभीमा फोकस छौं।’ महावीर अटोमोवाइलका प्रतिनिधिले भने–‘हामीले रेनल्टको व्यापारमा साझेदारी समेत गरेको मुरारका समूहले भित्र्याएको एमजी इभी बिक्री गर्न खोज्यौं, तर बुक भएको गाडी समेत नपठाइदिएपछि हामीलाई समस्या भयो।’  

रेनल्ट नेपालले आफ्नो वेबसाइटमा आफ्नो आधिकारिक डिलर भन्दै उल्लेख गरेकामध्ये अधिकांशले उसँगको सम्बन्ध तोडिसकेका छन् ।  

रेनल्टको थापाथलीस्थित सोरुमको सन् २०१६ अगस्टमा लिइएको तस्विर । व्यापार चौपट भएपछि यो ठाउँमा एमजीको सोरुम पनि राखिएको छ ।     तस्विर स्रोत: नेपाल अटोको फेसबुक पेज

थापाथलीस्थित रेनल्टको पहिलाको भव्य सोरुम समेत अहिले देख्न सकिन्न । त्यहाँ पहिला रेनल्टले मात्र लिएको स्पेशमा अहिले एमजीले साझेदारी गरेको देख्न सकिन्छ ।  

मूल्यमा छलछाम, पुराना ग्राहक ठगिए

नयाँ वर्षमा रेनल्ट नेपालले गरेको विज्ञापनको नमूना । 

रेनल्टले विगतमा किगर, क्वीड, डस्टर र ट्राइबर बिक्री गरेको थियो । डस्टरले बजार तताएको थियो । क्वीड र किगरले समेत राम्रै व्यापार गरेका थिए ।  

सोबेला रेनल्टका यी गाडीमा एड्भान्स मोटर्सले अस्वभाविक मार्जिन राखेको थियो । गाडी आयातकर्ताहरुको यस्तो लुटको विषयमा खोजबिन गर्ने निकाय नहँुदा र सरकारी एजेन्सीहरु पनि मौन बसिदिंदा रेनल्टका गाडी किन्ने ग्राहकहरु नराम्ररी ठगिएका छन् ।  

२०८० को दशैं र २०८१ बैशाखमा रेनल्ट नेपालले आकर्षक अफर भन्दै विभिन्न स्किम सार्वजनिक गरेको थियो । सो क्रममा एकवर्ष अगाडि बिक्री गरिएको मूल्यभन्दा ८ लाखभन्दा बढी मूल्य घटाएर नयाँ मूल्य कायम गरिएको छ ।  

नयाँ वर्ष २०८१ को उल्लासमय अफर भन्दै ‘सुपर डुपर प्राइस डिलाइट’को नाममा कम्पनीले रेनल्ट किगर आरएक्स ई एमजी मोडलको मूल्य २६.९९ लाख कायम गरेको छ । यही गाडी २ वर्षअघि किन्नेले भने २०२३ मा मात्रै किगर(आरएक्सई नन टर्बो)को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ राखेर बिक्री गरिएको थियो । त्यसअघि अझ ३५.४९ लाखदेखि ३७ लाखसम्ममा बिक्री गरिएको थियो । भारतमा अधिकतम ९ लाख भारुमै पाइन्छ । यसमै टर्बो अप्सनको मूल्य ४३ लाखसम्म राखिएको थियो ।  

यसरी हेर्दा एक वर्षमै किगरको यो मोडलको मूल्य ८ लाख रुपैयाँले घटाएर कम्पनीले बिक्री गरेको देखिन्छ । एक वर्षअघि ३५ लाख मूल्य हालेर यो गाडी लिनेहरु कम्पनीले मूल्यमा गरेको यो बदमासीको सबैभन्दा ठूलो मार व्यहोरेका छन् । ‘यही गाडी १ वर्षअघि ३५ लाख रुपैयाँमा किनेँ । अहिले कम्पनीले त्यही गाडी २७ लाखमा दिन्छु भनेर अफर निकाल्छ भने यसलाई कसरी बुझ्ने ?’ किगरको यही मोडलको कार किनेका काठमाण्डौका सुरेश महर्जन भन्छन्–‘यो त अत्याचार भयो । १ वर्षपछि कार बेचेर इभीमा सर्न खोजेको, अब नयाँ गाडी नै २७ लाखमा पाइन्छ भने मैले ३५ लाखमा किनेको सेकेण्ड ह्याण्ड कारको रिसेल भ्यालू कति राख्ने ? कतिमा बिक्री गर्ने ?’

कम्पनीको नयाँ अफरमा रेनल्टको क्वीड आरएक्सटी ओ एमटी १८ लाख ९९ हजारमै किन्न पाइनेछ । एक वर्षअघि यही मोडलको गाडीको मूल्य २६ लाख ७९ हजार रहेको थियो । यसरी यो मोडलको गाडी लिनेहरु पनि ठगिएका छन् । एकवर्षमै कम्पनीले मूल्य पनि ८ लाख हाराहारीमै घटाइदिएपछि महङ्गो लिनेहरुलाई समस्या भएको छ ।  

कम्पनीले टाइबर आरएक्सएलको अफर मूल्य २१.९९ लाख तोकेको छ । २ वर्षअघि मात्रै यो मोडलको मूल्य ३० लाख ५० हजार राखिएको थियो । कम्पनीले ८ लाख ५० हजार हाराहारीले एकैपटक मूल्य घटाएर अफर सार्वजनिक गरेको देखिएको छ ।

नयाँ वर्ष २०८१ को अफरमा रेनल्टको किगर आरएक्सई एमजीको मूल्य २६ लाख ९९ हजार तोकिएको छ । २ वर्षअघि यही मोडलको गाडी ३५ लाखमा बिक्री गरिएको थियो । यो मोडलको मूल्य समेत कम्पनीले ८ लाखले घटाएको देखिन्छ ।

(‘सेरेसको इभी कारमा समस्यै समस्या’ र ‘फोटोनका गाडी किन्नेहरुको दुखान्त कथा’ सम्बन्धी खोज पढ्न बिजशालालाई पछ्याइरहनुहोला ।)

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.