काठमाण्डौ । भारत पाकिस्तान विवादबीच पाकिस्तानले भारतलाई हवाईमार्गका लागि आफ्नो आकाश प्रयोग गर्न नदिने घोषणा गरेको छ । पाकिस्तानले तत्कालै भारतका सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गरेको हो ।
पाकिस्तानले भारतसँगको व्यापार पनि बन्द गरेको छ । यसमा अन्य देशहरूमा जाने वा त्यहाँबाट पाकिस्तान हुँदै आउने सामानहरू पनि समावेश छन्।
पाकिस्तानले हवाई क्षेत्र बन्द गरेपछि भारतीय उड्डयन कम्पनीहरूमा नकारात्मक असर पर्नेछ । यसले उनीहरूको सञ्चालन लागत बढाउनेछ। जसका कारण टिकटको भाउ बढ्ने सम्भावना छ । यात्रुले लामो समय यात्रा गर्नुपर्नेछ । लामो दुरीका अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरु सबैभन्दा बढी प्रभावित हुने छन् ।
भारतीय विमानहरूले अब युरोप, उत्तर अमेरिका र मध्यपूर्व जस्ता गन्तव्यहरूमा पुग्न लामो दूरीको यात्रा गर्नुपर्नेछ। भारतीय हवाई कम्पनीहरुले पश्चिममा यात्रा गर्दा पाकिस्तानको हवाई क्षेत्र बीचमा पर्छ। यसलाई बाइपास गर्दा उडानको दूरी र समय बढ्छ। लामो रुटको अर्थ विमानहरूले बढी इन्धन बोक्नुपर्छ। यसले इन्धनको लागत बढाउनेछ । एयरलाइन्सका लागि इन्धन ठूलो खर्च हो । यस्तो अवस्थामा यसले उनीहरूको नाफामा ठूलो असर पार्ने प्रष्टै देखिन्छ।
उडान समय बढाउँदा चालक दलको घण्टा र अन्य सञ्चालन लागतहरू पनि बढ्न सक्छ। सञ्चालन लागत बढेपछि एयरलाइन्स कम्पनीहरुले टिकटको मूल्य बढाउन सक्छन् ।
यसले यात्रुलाई हवाई यात्रा महँगो बनाउने छ । लामो उडान समयका कारण यात्रुको यात्रा समय बढ्नेछ । यसले विशेष गरी लामो दूरीको यात्रा गर्नेहरूलाई असुविधा बढाउने जनाइएको छ । मार्ग परिवर्तन र एयरस्पेस बन्द हुने अनिश्चितताले उडानहरूमा ढिलाइ र अन्य अवरोधहरू निम्त्याउन सक्छ।
धेरै लामो दूरीका अन्तर्राष्ट्रिय उडानहरू पाकिस्तानी हवाई क्षेत्रबाट गुज्र्रने एयर इन्डिया यो निर्णयबाट सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । कम्पनीले केही उडानका लागि वैकल्पिक रुट अपनाउने घोषणा गरिसकेको छ । मध्यपूर्व र अन्य पश्चिमी गन्तव्यहरूमा इन्डिगो, स्पाइसजेट र अन्य निजी एयरलाइन्सका उडानहरू पनि प्रभावित हुनेछन्।
यसले उनीहरूको सञ्चालन लागत बढाउनेछ। फेब्रुअरी २०१९ मा पुलवामा हमला र बालाकोटमा भएको हवाई हमलापछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो। त्यसपछि भारतीय उड्डयन कम्पनीहरूले करिब ५४० करोड भारु घाटा व्यहोरेका थिए । यसपटक पनि लामो समय हवाई क्षेत्र बन्द भएमा भारतीय हवाई कम्पनीहरुले ठूलो आर्थिक क्षति हुने सम्भावना छ । विशेष गरी सन् २०१९ को तुलनामा २०२५ मा भारतीय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्चालनमा उल्लेख्य वृद्धि भएको छ ।
पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । दुवै देशले एकअर्काविरुद्ध धेरै कडा कदम चालेका छन्। जसका कारण दुई देशबीचको सम्बन्ध थप चिसिएको छ ।