काठमाण्डौ । सरकारले सार्वजनिक संस्थानहरूको उचित प्रतिफल आउने गरी व्यवस्थापन गर्न आवश्यक रहेको जनाएको छ । अर्थ मन्त्रालयले देशको वर्तमान अवस्थालाई दर्शाउँदै जारी गरेको श्रेवतपत्रमा यस्तो आवश्यकता औल्याइएको हो ।
श्रेवतपत्रमा सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्दै गएपनि अपेक्षित प्रतिफल हासिल हुन नसकेको उल्लेख छ । २०८२ फागुनसम्म सरकारको पूर्ण स्वामित्व भएका २० र अधिकांश स्वामित्वमा रहेका २५ गरी ४५ सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्।
२०८१ असारसम्म सेयर लगानी रु। ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु. ३ खर्ब ३९ अर्ब ८ करोड गरी सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी रु.७ खर्ब ३ अर्ब ९४ करोड पुगेको उल्लेख छ।
सञ्चालनमा रहेका संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र २ सार्वजनिक संस्थान बन्द रहेका छन्। लगानीको तुलनामा प्रतिफल न्यून रहेको छ। सार्वजनिक संस्थानबाट सरकारलाई आर्थिक वर्ष २०८०/८१ मा कुल शेयर लगानीको तुलनामा २.४ प्रतिशत रु.८ अर्ब ८४ करोड मात्र लाभांश प्राप्त भएको छ।
कतिपय संस्थानको नियमित लेखापरीक्षण समेत हुन नसक्दा सञ्चित नोक्सानी र संभाव्य दायित्व यकिन गर्न नसकिएको समेत विश्लेषण गरिएको छ ।

