काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजार सुधारका लागि केही आकर्षक घोषणाहरू गरे पनि त्यसले लगानीकर्ताको मन जित्न सकेको देखिएको छैन। बजेट सार्वजनिक भएको केही दिन बितिसक्दा पनि सेयर बजारले अपेक्षित गति लिन नसक्नुले लगानीकर्ताको मनोविज्ञान अझै सरकारप्रति विश्वस्त हुन नसकेको संकेत गरेको छ।
बजेटपछिको पहिलो कारोबार दिनमै नेप्से परिसूचक २६.७२ अंकले घट्यो। त्यसयता पनि बजारले स्पष्ट दिशा समात्न सकेको छैन। सामान्यतया बजेटमार्फत पूँजीबजारमैत्री घोषणा हुँदा लगानीकर्तामा सकारात्मक मनोबल देखिनुपर्ने हो, तर यसपटक अवस्था उल्टो देखिएको छ।
बजार विश्लेषकहरूका अनुसार समस्या बजेटका घोषणामा भन्दा पनि ती घोषणा कार्यान्वयन गर्ने सरकारको क्षमताप्रति रहेको अविश्वासमा छ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार लगानीकर्ताले अहिले सरकारका घोषणाभन्दा पनि त्यसको विश्वसनीयता हेर्न थालेका छन्।
उनले भने, “बजेटमा पूँजीबजार सुधारका धेरै विषय समेटिएका छन्। तर विगतका अनुभव हेर्दा ती घोषणा कार्यान्वयन हुन्छन् भन्ने विश्वास लगानीकर्तामा देखिँदैन। बजारलाई अहिले नीतिभन्दा बढी विश्वसनीयता चाहिएको छ।”
ढकालका अनुसार पूँजीबजारको सबैभन्दा महत्वपूर्ण नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समयदेखि नेतृत्वविहीन हुनु आफैंमा सरकारको प्राथमिकतामाथि प्रश्न उठाउने विषय बनेको छ।
“धितोपत्र बोर्डमा अध्यक्ष छैन, धेरै नीतिगत निर्णय रोकिएका छन्। यस्तो अवस्थामा सरकारले बजारलाई महत्व दिएको सन्देश कसरी जान्छ ?” उनले प्रश्न गरे।
कर बढ्यो, ट्रेडर थप दबाबमा
बजेटले पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिएको छ। तर छोटो अवधिका कारोबारकर्तामाथि करको भार बढेको भन्दै त्यसको असर बजारमा देखिन थालेको विश्लेषण गरिन्छ।
ढकाल भन्छन्, “दीर्घकालीन लगानीकर्तालाई धेरै असर नपर्ला। तर दैनिक कारोबार गर्ने ट्रेडरहरू बजारको तरलता बढाउने प्रमुख पक्ष हुन्। उनीहरू निरुत्साहित हुँदा कारोबार र बजार दुवै प्रभावित हुन्छन्।”
लगानीकर्ताको मनोबल उठाउने गृहकार्य नै भएन : फुल्लेल
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेल पनि बजारको कमजोरीको मुख्य कारण सरकारप्रतिको घट्दो विश्वासलाई मान्छन्।
उनका अनुसार बजेटमा केही सुधारका विषय समेटिनु मात्रै पर्याप्त हुँदैन, लगानीकर्ताले सरकारको व्यवहारमा पनि प्रतिबद्धता खोजिरहेका छन्।
“सरकारले बजारलाई प्राथमिकतामा राखेको अनुभूति दिन सकेको छैन,” फुल्लेल भन्छन्, “जबसम्म लगानीकर्ताको मनोबल माथि उठ्दैन, बजारले दिगो लय समात्न सक्दैन।”
सेबोन नेतृत्वविहीन, ठूला लगानीकर्ता ‘वेट एन्ड वाच’ मा
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसीका अनुसार अहिलेको बजार मूलतः ‘पर्ख र हेर’ को मनोविज्ञानमा चलिरहेको छ।
उनले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिनु, बजारमा देखिएका अनियमिततामाथि भइरहेको छानबिन र नियामकीय अन्योलले ठूला लगानीकर्तालाई किनारामा बस्न बाध्य बनाएको बताए।
“बजार अहिले परीक्षणकालमा छ,” केसीले भने, “ठूला लगानीकर्ता स्पष्ट संकेतको प्रतीक्षामा छन्। ट्रेडरहरूको कारोबारले मात्रै बजारलाई लामो समय धान्न सक्दैन।”
उनका अनुसार पछिल्ला वर्षहरूमा हकप्रद, बोनस र नयाँ आईपीओमार्फत बजारमा सेयर आपूर्ति निरन्तर बढिरहेको छ। तर त्यसअनुसार नयाँ लगानीकर्ता थपिन सकेका छैनन्। परिणामस्वरूप माग र आपूर्तिबीच असन्तुलन देखिन थालेको छ।
नीतिभन्दा विश्वासको संकट ठूलो
विश्लेषकहरूका अनुसार अहिले बजारको मुख्य समस्या ब्याजदर, तरलता वा बजेटका प्रावधान होइनन्। समस्या लगानीकर्ताको विश्वासमा आएको गिरावट हो।
सरकारले बजेटमार्फत डेरिभेटिभ्स, सर्ट सेलिङ, इन्ट्राडे कारोबार, विदेशी लगानीकर्ता प्रवेश लगायतका महत्वाकांक्षी सुधारको घोषणा गरेको छ। तर धितोपत्र बोर्ड नेतृत्वविहीन रहनु, नियामकीय निर्णयहरू रोकिँदै जानु र सुधार कार्यान्वयनको स्पष्ट रोडम्याप नदेखिनुले ती घोषणाको प्रभाव कमजोर बनाइरहेको छ।
बजारका जानकारहरू भन्छन्-“अहिले नेप्सेलाई नयाँ नीति होइन, सरकारबाट विश्वासको सन्देश चाहिएको छ। जबसम्म त्यो सन्देश आउँदैन, बजेटका आकर्षक घोषणाहरू पनि कागजमै सीमित हुने जोखिम रहन्छ।”

