काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ ।
समीक्षामार्फत वाणिज्य बैंकहरुको नाफा बढाउन सहयोग पुग्ने केही महत्वपूर्ण नीतिहरु आएका छन् भने बिजुली गाडीलाई निरुत्साहित पारी पेटोल डिजेल इञ्जिनका गाडीहरु प्रोत्साहित हुने गरी अटोलोनको साबिकको व्यवस्थामा केही परिमार्जन गरिएको छ ।
राष्ट्रबैंक आफैंले मौद्रिक समीक्षा गर्दै मुद्रास्फिति बढिरहेको समयमा नीतिगत दर बढाउनुपर्ने आवश्यकता औंल्याए पनि त्यसबाट तत्कालका लागि पछि हटेको विश्लेषण गरेको छ । नीतिगत दर नचलाउने कारण प्रस्तुत गर्दै भनिएको छः मूल्य वृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनु पर्ने आवश्यकता औंल्याएको भएतापनि आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नु पर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको छ ।
यहीकारण केन्द्रीय बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राख्ने निर्णय गरिएको छ ।
समीक्षामा केन्द्रीय बैंकले विभिन्न देशका केन्द्रीय बैंकहरुले लिएको मौद्रिक नीतिको दिशाहरु उद्धृत गर्दै आगामी दिनमा थप लचक व्यवस्था गर्दै जानुपर्ने आवश्यकतातर्फ समेत संकेत गरेको छ ।
'मुद्रास्फीतिमा सुधारसँगैअन्तर्राष्ट्रिय स्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएकोछ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले नीतिगत दरको रुपमा रहेको फेडरल फण्ड्स रेटलाई सन्२०२४ सेप्टेम्बरबाट घटाउँदै सन् २०२४ डिसेम्बरमा ४.२५–४.५० प्रतिशत कायम गरेको छ । यद्यपि, फेडरल ओपन मार्केट्स अपरेसन्स्कमिटिको सन् २०२५ जनवरीको बैठकले फेडरल फण्ड्स रेटमा परिवर्तन गरेको छैन ।' समीक्षामा भनिएको छ-'युरोपियन केन्द्रीय बैंकले पनि लचिलो मौद्रिक अडानलाई निरन्तरता दिँदैनिक्षेप सुविधा दरलाई सन् २०२५ फेब्रुअरीमा थप २५ आधार विन्दुले घटाई २.७५ प्रतिशत कायम गरेकोछ । ज्ञघ। भारतीय रिजर्भ बैंकले सन् २०२३ फेब्रुअरीदेखि ६.५ प्रतिशतमा स्थिर राख्दै आएको नीतिगत दरलाई सन् २०२५ फेब्रुअरीमा २५ आधार विन्दुले घटाई ६.२५ प्रतिशत कायम गरेको छ । जापानको केन्द्रीय बैंकले भने नीतिगत दरको रुपमा रहेको ओभरनाइट कल रेट ०.२५ प्रतिशतबाट दोब्बर गरी ०.५० प्रतिशत कायम गर्दै सन्२००८ यताकै उच्च बनाएको छ ।'
केन्द्रीय बैंकले विगत २ वर्षदेखि ऋणात्मक वृद्धि रहेको उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रले अझै गति लिन नसकेको, यद्यपि, जलविद्युत उत्पादनमा हुँदै गएको वृद्धि, वैदेशिक व्यापारमा भएको विस्तार र पर्यटन क्षेत्रमा देखिएको सुधारले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने देखिएको आशा व्यक्त गरेको छ । यसका साथै निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि नेपाल सरकारले हालै गरेका कानुनी सुधारहरुको कार्यान्वयनबाट लगानीको वातावरणमा सुधार आउने विश्वास समेत व्यक्त गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                