काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार आम्दानी घटेतापनि बैंकको खुद नाफा बढेको छ । ।
बैंकले तेस्रो त्रैसमासम्ममा १ अर्ब ६५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २.२४ प्रतिशतले बढी हो ।
बैंकको खुद ब्याज आम्दानी भने ७.३० प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ८ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ९.०५ प्रतिशतले बढेर ७ अर्ब ४ करोड र सञ्चालन मुनाफा पनि १३.३३ प्रतिशतले बढेर २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
७७ करोड २७ लाख रुपैयाँबराबरको रिटेन्ड अर्निङ भएको बैंकको रिजर्भमा १७ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। यस्तै बैंकले कर्जा विस्तारलाई पनि २ खर्ब ४७ अर्बबाट बढाएर २ खर्ब ७६ अर्ब रुपैयाँ पुर्याएको छ ।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ७७ करोड २७ लाख रुपैयाँ र लाभांश क्षमता ३.१७ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक र लाभांश क्षमता ५.३८ प्रतिशतले ऋणात्मक थियो । बैंकको खराब कर्जा अनुपात केही घटेको छ । खराब कर्जा अनुपात २.२४ प्रतिशतबाट घटेर २.०७ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७६.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.०८ गुणा र तरलता अनुपात २६.३२ प्रतिशत रहेको छ ।