काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३.५१ प्रतिशतले बढी हो ।
बैंकको नाफा बढेतापनि खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले समीक्षा अवधिसम्ममा ७ अर्ब ८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको ८ अर्ब ४३ करोड रुपैयाँको तुलनामा १६.०४ प्रतिशतले कम हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ३३ करोडबाट बढेर १ अर्ब ६५ करोड पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ३९ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको रिजर्भको आकार १९.८६ प्रतिशतले बढेर १४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक बनेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससमम १६ करोड ६५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकको खराब कर्जा अनुपात ८.६७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १०.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.५२ गुणा र तरलता अनुपात ३६.८४ प्रतिशत कायम भएको छ ।