काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकका फरार संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । रायलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट पक्राउ गरेको हो ।
उनीमाथि बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा उक्त रकम अपचलन भएको तथ्य बाहिरिएको थियो ।
सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारणहरु अध्ययन गर्न, बैंकको आर्थिक अवस्था विश्लेषण गर्न तथा आर्थिक हिनामिना भएको वा नभएको यथार्थ अवस्था विश्लेषण गर्न गत पुस ५ गते पाँच सदस्यीय विशेष छानविन समिति गठन भएको थियो ।
डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठन भएको उक्त समितिले विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई विगत केही वर्ष देखी अपचलनलाई लुकाइएको जनाएको थियो ।