काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्च(नेप्से)ले एक सूचना जारी गर्दै कम्पनीको धितोपत्र कारोबार स्थगन भएको जनाएको हो ।
कम्पनीको भदौ ११ गते सञ्चालक समितिको बैठक बसी बार्षिक साधारण सभा सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा भदौ १६ गते प्राप्त भएकाले धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा (नट्स मार्फत) पेश गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।
उक्त विनियममा भएको व्यवस्थाको पूर्ण पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६(१) (ख) मा भएको व्यवस्था अनुरुप भदौ १६ को निर्णयानुसार कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।
साथै, पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सञ्चालक समितिको बार्षिक साधारण सभा सम्बन्धी गरेका निर्णयहरुको छायाँ कपि सहित स्पष्टिकरण पेश गर्न समेत नेप्सेले कम्पनीलाई निर्देशन दिएको छ ।